जिल्लामा झाडापखालाका बिरामी बढेका छन् । भेरी अस्पतालमा झाडापखालाका बिरामीहरूको लागि १६ ओटा वेड रहेको छ । हालसम्म ५८ जनाको उपचार भइसकेको र आठ जना अझै उपचाररत रहेको भेरी अस्पतालका सूचना अधिकारी एवम् इर्मेजेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. संकेत रिसालको भनाइ छ ।

नरैनापुर गाउँपालिका–३, गेगलीस्थित झाडापखालाले दलित समुदायका एकै परिवारको तीन जना सहित चार जनाको मृत्यु भएपछि उपचारका लागि आउने बिरामीहरूको लागि छुट्टै वार्ड व्यवस्थापन गरी सञ्चालनमा ल्याइएको भेरी अस्पतालका सूचना अधिकारी एवम् इर्मेजेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. संकेत रिसालले बताउनु भयो । प्रमुख डा. रिसालले भदौ महिनामा विकट गाउँबस्तीमा झाडापखालाका बिरामीहरू देखिन थालेपछि उपचारका लागि छुट्टै वार्ड सञ्चालनमा ल्याइ २४ घण्टे सेवा दिइरहेको बताउनु भयो । झाडापखाला बिरामीहरूका लागि भेरी अस्पतालमा छुट्टै वार्ड भदौ ९ गतेदेखि सञ्चालनमा आएको छ ।

नरैनापुर गाउँपालिका-३, कालाफाँटाका स्थानीय साकुर अली साईले छोरी पाँच वर्षीया मदिरसवा साईलाई ६ दिनदेखि झाडापखाला आइरहेकोले नेपालगञ्ज भेरी अस्पतालमा ल्याएपछि सञ्चो हुन थालेको बताउनु भयो । यस्तै टाउको दुख्ने र झाडापखाला आइरहने नरैनापुर गाउँपालिका-३ का स्थानीय २८ वर्षीय अब्दुल सलाम तेलीको अवस्था गम्भीर भइसकेको थियो । जसको उपचार तीन दिनदेखि उपचार भइरहेको उहाँको आमा तकतदीरा तेलीले बताउनु भयो ।
भेरी अस्पतालको झाडापखाला वडामा खटिएका स्वास्थ्यकर्मीहरूले मौसम परिवर्तन, सरसफाईको कमी र दुषित खानेपानीले टाउको दुख्ने, झाडापखाला लागेको बताएका छन् । पछिल्लो समयमा जिल्लामा फैलिएको झाडापखालाका बिरामीहरूको भेरी अस्पतालमा उपचार गरिरहेको अस्पतालले जनाएको छ ।




