INSEC Online

📅 २०८३ जेष्ठ २१

महिला बन्दी गृह नहुँदा भेटघाटमा समेत समस्या

जिल्लामा महिला बन्दी गृह नहुदा थुनामा परेका महिलाहरूका आफन्तले भेटघाट गर्न समेत समस्या हुँदै आएको छ । पाँच जना महिला राख्ने क्षमता भएको चौतारा कारागारमा पुरुष बन्दी राखेपछि महिला बन्दीहरूलाई अन्य जिल्लामा पठाउने गरिएको छ । ०७२ सालको भुकम्पले चौतारा कारागारकको पुरुष बन्दी राख्ने भवना पूर्ण रूपमा क्षति पुगेपछि महिला बन्दी राख्ने भवनमा पुरुष कैदीबन्दी राखिँदै आएको छ ।

cd6bb7f3-166a-452e-aeb5-c336d08542e7

प्रहरीले बिभिन्न घटनामा संलग्न भएर अदालत पेस गरेका महिलालाई थुनामा राख्ने आदेश गरे उनीहरूलाई अरु जिल्लामा रहेका बन्दी गृहहरूमा पुर्‍याइन्छ । त्यसो गर्दा आरोपित महिला कैदीबन्दीहरूका आफन्तले भेट गर्न समेत नपाएको गुनासो गरेका छन् ।

जुगल गाउपालिका—१ की ज्ञानु भन्ने चित्रकुमारी थापालाई कर्तब्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा जिल्ला अदालतको ०८० चैत २१ गतेको आदेशले उहाँलाई पुर्पक्षमा राख्ने आदेश गरेको थियो । तर। जिल्लामा महिला बन्दी गृह नहुँदा जिल्ला कारागार कार्यालयले थापालाई जगन्नाथदेवल (सेन्टर जेल) बन्दी गृह पठाएपछि चित्रकुमारी थापाको दाजु राजिव सापकोटाले हालसम्म भेटघाट गर्न नपाएको गुनासो गर्नुहुन्छ ।

सापकोटाले भन्नुभयो — बहिनिलाई चौताराबाट काठमाडौँस्थितसेन्टर जेलमा पु¥यायो भन्छन्, भेट गर्न जानलाई सेन्टर जेल कता हो ? कसरी भेट गर्न पाइने हो ? केही थाहा नहुँदा एकपटक भेट गर्न जाँदा पनि भेट हुन सकेन ।

कर्तब्य ज्यान मुद्दाकै अर्का आरोपित हेलम्वु गाउँपालिका—७ की माइली तमाङलाई ०८१ साउन २९ गते जिल्ला अदालतले पुर्पक्षमा राख्ने आदेश गरेपछि जिल्ला कारागार कार्यालयले उहाँलाई पनि काठमाडौँ स्थित सेन्टर जेलमा लगियो । पुर्पक्षमा रहेकी माइली तामाङको आफन्तले पनि हालसम्म भेट गर्न नपाएको गुनासो गरेका छन् ।

जिल्ला मै राखिएको भए आफन्तहरूले नियमित भेटघाट गर्न पाइन्थ्यो, सन्चो विसन्चोको जानकारी लिन दिन पाइन्थ्यो । जिल्ला भन्दा टाढा लगिएकोले भेटघाट गर्न समस्या भएको माइली तमाङकी छोरी आशा तमाङले बताउनुभयो ।

माथी उल्लेखित प्रतिनिधि मुलक घटनाहरू मात्र हुन् । अधिकांश थुनामा रहेका महिला आरोपितहरूको परिवार र आफन्तहरूको यस्तै गुनासो रहेको छ ।

जिल्लामा महिला बन्दी राख्नको लागि पर्याप्त भवन नहुँदा आरोपित महिलाहरूलाई अन्यत्र जिल्लामा लैजान समेत समस्या भएको निमित्त जेलर मानबहादुर बि.क. बताउनुहुन्छ । जुन कारागारमा महिला लैजाने हो त्यो कारागारको अनुमति लिनुपर्ने, राख्ने ठाउँ छ छैन, लैजादा पनि खर्चालु हुने आदी समस्या रहेको निमित्त जेलर बि.क. ले बताउनुभयो ।

जिल्ला अदालतबाट थुनामा पठाउने आदेश भएका महिलाहरूलाई बिशेषगरी रामेछाप, काठमाडौँ, मकवानपुर, दोलखा, काभ्रे लगायतका बन्दी गृहहरूमा पठाउने गरेको जिल्ला कारागार कार्यालयका सूचना अधिकारी गौरव श्रेष्ठ बताउनुहुन्छ ।

०७२ सालको भुकम्पले पुरुष बन्दी गृह ध्वस्त बनाएपछि महिला बन्दी गृहमा पुरुष राखिएको हो । पाँच जना महिला बन्दी राख्न निर्माण गरिएको भवनमा हाल १ सय ४७ जना पुरुष बन्दीहरू राखिएको छ ।

पुरुष बन्दी गृह पुननिर्माणका लागि पटकपटक माथिल्लो निकायमा पत्राचार भए पनि हालसम्म पुननिर्माण गर्ने खवर नआएको जिल्ला कारागार कार्यालयका निमित्त जेलर बि.क.ले बताउनुभयो ।

7f371bc2-d6c4-43d6-8425-6908d5b3fa7b

अन्य

भिडियो