बेवारिसे बम विष्फोटन घटनाका पीडित परिवारले २२ महिनासम्म क्षतिपूर्ति र राहत नपाएको गुनासो गरेका छन् । तिलागुफा नगरपालिका–१० स्थित रानावाडामा दुई जना बालिकाको ज्यान जानेगरी ०७९ कात्तिक १२ गते भएको बम विष्फोटन घटनाका पीडित मृतकका परिवारलाई सरकारले दिने राहत घाइतेलाई क्षतिपूर्ति २२ महिनासम्म नपाएका हुन् ।
बम विष्फोटन घटनामा तीन वर्षीया झरना थापाको घटनास्थलमै मृत्यु भएको थियो भने पाँच वर्षीया सरस्वती रानाको उपचारको क्रममा प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको थियो । यस्तै आठ वर्षीय कमल थापा, तीन वर्षीया दर्शना राना र पाँच वर्षीय मुस्कान थापा घाइते भएको दुई वर्ष पुग्न लाग्दा पनि गृह मन्त्रालयको ढिलासुस्तीले पीडितहरूले राहत पाउन सकेका छैनन् ।
मृतक झरना थापाका बाजे कर थापाले राज्यबाट मृतकका परिवारले पाउने क्षतिपूर्ति अहिलेसम्म केही नपाएको गुनासो गर्नुभयो । उहाँले घटना भएको २२ महिनासम्म पनि क्षतिपूर्ति नदिएकोमा दुःख व्यक्त गर्नुभयो ।
जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले घटना लगत्तै जिल्ला स्तरीय राहत, क्षतिपूर्ति सिफारिस समितिको बैठक बसी सिफारिस गरी पठाए र चार पटकसम्म मन्त्रालयमा लेखेर पठाउँदा पनि हालसम्म क्षतिपूर्ति नआउँदा पीडित परिवारबाट बारम्बार दुखेसो आउने गरेको बताउनु भयो । साथै उहाँले मन्त्रालयमा पटक पटक पत्र लेखि पठाउँदा पनि ढिलासुस्ती भइरहेको सुनाउनु भयो ।
यस विषयमा ०८० साउन १० गते ‘बेवारिसे बम विष्फोटन घटनाका पीडित परिवारले क्षतिपूर्ति पाएनन्‘ शीर्षकमा इन्सेक अनलाइनमा समाचार समेटिए पनि अवस्था उस्तै रहेको छ । घटनाका बारेमा इन्सेकको अगुवाइमा मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालिकोट र पत्रकारहरूको टोलीले ०७९ कात्तिक २५ गते र कात्तिक २६ गते घाइतेहरूको अवस्थाका विषयमा स्थलगत अनुगमन गरी स्थानीय प्रशासनलाई मृतकका परिवारलाई क्षतिपूर्ति र घाइते बालबालिकाको उचित उपचार, राहत, उच्च शिक्षा, रोजगारी लागि तत्काल यथोचित कदम चाल्न तीनै तहका सरकारलाई सुझाव दिएको थियो ।