दोरम्बा शैलुङ गाउँपालिका–१ का डडुवाका विभिन्न बस्तीका सर्वसाधारण १२ दिनदेखि त्रिपालमुनि बसिरहेका छन् ।
वडा नं. १ स्थित विभिन्न टोलका ४३ ओटा भन्दा बढी घर परिवार पहिरोको जोखिमका कारण त्रिपालमुनि बसिरहेका छन् । २०८१ भदौ ८ गते रातिको अविरल वर्षापछि गएको पहिरोले सो वडाका विभिन्न बस्तीका ४८ घर परिवार जोखिममा परेका वडाध्यक्ष प्रेम लामाले बताउनुभयो ।

दोरम्बा शैलुङ गाउँपालिका–१ पात्लेमा तीन घर, मङ्सिरेमा ६ घर, नागीमा दुई घर, मझुवा सल्लेटारको थामी बस्तीमा ३२ घर, बालुवाको थामी बस्तीमा तीन घर र साबिक वडा नं ४ को थामी बस्तीमा दुई घर परिवार पहिरोको जोखिममा परेका छन् ।
अहिले मझुवा सल्लेटार स्थित थामी बस्तीमा ३२ घर, पात्लेका तीनघर, मङ्सिरेका ६ घर र नागीका २ घर गरी ४३ घरका परिवार त्रिपालमुनि बसिरहेका लामाले बताउनुभयो । लामा समयदेखि चिसो त्रिपालमुनि बस्दा बच्चा, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकहरू बिरामी पर्न लागेका लामाले जानकारी दिनुभयो ।
त्रिपालमुनिको बसाई निक्कै कष्टकर भएको स्थानीय भीमबहादुर थामीले बताउनुभयो । उहाँले आफूहरू बिचल्लीमा पर्दा पनि सरकारको ध्यान नगएको बताउनुभयो ।
पहिरोका कारण स्थानीय त्रिपालमुनि बस्दा पनि गाउँपालिका, जिल्ला विपद् व्यवस्थापन समिति लगायत सरोकारवाला निकाय चासो नदिएको लामाले गुनासो गर्नुभयो ।
पहिरो पीडितलाई अहिलेसम्म दोरम्बा शैलुङ गाउँपालिकाले आठ बोरा चामल, दुई बोरा चिउरा र दुई बक्सा खाने तेल र केही थान त्रिपाल उपलब्ध गराएको वडाध्यक्ष लामाले बताउनुभयो । यस बाहेक रेडक्रस रामेछापले केही ठाउँका पीडितलाई त्रिपाल लगायतका केही राहत सामाग्री उपलब्ध गराएको छ ।
सो स्थानका पहिरो पीडितलाई सामान्य राहत प्रदान गर्ने र अस्थायी रूपको बसोबासको व्यवस्थापन वडा तथा गाउँपालिकाले गरिरहेको भन्ने जानकारी जिल्ला विपद् व्यवस्थापन समितिमा रहेको रामेछापकी प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला स्तरीय विपद् व्यवस्थापनकी समिति संयोजक अनिता निरौलाले बताउनुभयो ।
गाउँपालिकाले पहिरो जोखिम क्षेत्रको अध्ययनको लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गरेको उहाँले जानकारी दिनुभयो ।
