सर्केगाड गाउँपालिका-८, फुचाका ३७ वर्षीय हरि ऐडिलाई सर्केगाड गाउँपालिकाका अध्यक्ष ४३ वर्षीय ठानबहादुर राेकायाले ०८१ भदौ १६ गते कुटपिट गरेकाे आराेप लागेकाे छ ।
गाउँपालिकाका अध्यक्षकाे कार्यालयमा भदौ १६ गते एम्बुलेन्स सहयाेगकाे अनुराेध गर्ने क्रममा आफूलाई कुटपिट गरेकाे पीडत ऐडीकाे भनाइ छ । उहाँका अनुसार केही समय अगाडि सर्केगाड गाउँपालिका नजिकै आफ्नो गाडी दुर्घटनामा परि आफ्ना आफन्तहरू घाइते भएर जिल्ला बाहिर पठाएको र उनीहरूलाई घर ल्याउनका लागि बाजुरा जिल्लाकाे काेल्टिमा जानुपर्ने भएपछि गाउँपालिकालाई एम्बुलेन्सकाे सहयाेग मागेकाे हाे । तर अध्यक्षले एम्बुलेन्स दिनुकाे सट्टा उल्टै आफूलाई कुटपिट गरेको उहाँले बताउनु भयो । उक्त कुटपिटबाट उहाँको आँखाको भागमा चोट लागेको छ ।
सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर राेकायाले ऐडिले मदिरा सेवन गरी आएकाे र आफूलाई अपशब्द बाेल्ने क्रममा आफ्ना साथीहरूले बाहिर पठाएको बताउनु भयो ।
पीडित पक्षले इलाका प्रहरी चाैकी, सर्केगाडमा भदौ १६ गते माैखिक उजुरी दिएकाे इलाका प्रहरी चाैकी, सर्केगाडमा सइ एकबहादुर खड्काले जानकारी दिनुभयो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपित विरुद्ध थप अनुसन्धान गरिने उहाँको भनाइ छ ।