जन्मदर्ता नै बालअधिकार पहिलो खुड्किलो भएको र जन्मदर्तासँगै बालअधिकार सुनिश्चित हुँदै जाने भएपछि देउमाइ नगरपालिकाले समयमा जन्म दर्ता गराउनेलाई प्रोत्साहन स्वरूप पोषण भत्ता उपलब्ध गराउन थालेको छ ।
देउमाइ नगरपालिका-४ का ३६ वर्षीय घनश्याम खतिवडा छोरा जन्मिएको २२ दिनमा जन्मदर्ता बनाउन ०८१ भदौ ६ गते वडा कार्यालय पुग्नुभयो । ‘जन्मदर्ता बनाउँदा राजश्व तिर्नु पर्छ भन्ने लागेको थियो । तर, अब तपाईँले ५ हजार पोषण भत्ता पाउनुहुन्छ भन्दा अचम्म लाग्यो ।’ खतिवडाले भन्नुभयो, ‘जन्मदर्ता बनाउँदा पनि भत्ता पाइने भएछ । धन्न ३५ दिन नभइ जन्म दर्ताका लागि कार्यालय पुगेछु।’
देउमाइ नगरपालिकाले व्यक्तिगत घटना दर्ता ३५ दिनभित्र जन्मदर्ता र मृत्युदर्ता गराए बापत ५-५ हजार रुपियाँ सहयोग उपलब्ध गराउँदै आएको छ । देउमाइले नगरपालिकाको तर्फबाट ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ अन्तरगत नगरभित्र स्थायी रूपमा बसोबास गरेका प्रत्येक सुत्केरीलाई आफ्नो बच्चाको ३५ दिनभित्र जन्मदर्ता गराएमा ५ हजार रुपियाँ पोषण भत्ता दिने गरिएको देउमाइ नगरपालिकाका लेखा अधिकृत गजेन्द्र एक्तेनले बताउनु भयो ।
आर्थिक वर्ष ०८०-०८१ मा नगरभित्रका २ सय २७ जना सुत्केरीलाई देउमाइ नगरपालिकाबाट ११ लाख ३५ हजार रुपियाँ पोषण भत्ता प्राप्त प्रदान गरिएको छ । उनीहरू सबैले समयमै जन्मदर्ता गराई नगरपालिकामा पेश गरेपछि पोषण भत्ता उपलब्ध गराइएको लेखा अधिकृत गजेन्द्र एक्तेनले बताउनु भयो ।
देउमाइ नगरपालिकाले अघिल्लो आर्थिक वर्ष ०७९-०८० मा नगरभित्र स्थायी रूपमा बसोबास गरेका ३ सय १२ जना सुत्केरीले १५ लाख ६० हजार रुपियाँ पोषण भत्ता उपलब्ध गइराएको थियो । पोषण भक्ता बुझ्नका लागि देउमाइ नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गरी कुनैपनि स्वास्थ्य संस्थामा चार पटक गर्भ जाँच गरेको र ३५ दिनभित्र वडा कार्यालयमा जन्मदर्ता गराएको प्रमाण पेश गर्नुपर्ने प्रावधान रहेको एक्तेनले बताउनुभयो ।
गर्भवती भएदेखि सुत्केरी भएको ३५ दिनभित्रको आमा र बच्चालाई उत्प्रेरणा र पोषण स्थितिमा आमा र बच्चाको स्वास्थ्य सुधार गर्नका लागि ‘सुत्केरी शिशु पोषण कार्यक्रम’ लागू गरिएको नगरपालिका मेयर सूर्यप्रसाद पोखरेलले बताउनु भयो । ‘सुत्केरी आमा र नवजात बच्चालाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकरात्मक सन्देश प्रवाह गर्नका लागि सुत्केरी शिशु पोषण व्यवस्थापन कार्यक्रम लागू गरिएको हो’ मेयर पोखरेलको भनाइ छ ।
देउमाई नगरपालिकाले कुनैपनि कारणले मृत्यु भएका नगरभित्रका नागरिकका परिवारलाई दाहसंस्कार खर्चबापत ५ हजार रुपियाँ सहयोग उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष ०८०-०८१ मा देउमाईका २ सय ४ जना मृतकका परिवारले १० लाख २० हजार रुपियाँ दाह संस्कार खर्च प्राप्त गरेका छन् ।
घटना भएको ३५ दिनभित्र मृत्युदर्ता गराई नगरपालिकामा पेश गरेपछि दाहसंस्कार खर्च उपलब्ध गराउने व्यवस्था रहेको लेखा अधिकृत गजेन्द्र एक्तेनले बताउनु भयो । देउमाइ नगरपालिकाले अघिल्लो आर्थिक वर्ष ०७९-०८० मा नगरभित्रका १ सय ९० जना मृतकका परिवारलाई ९ लाख ५० हजार रुपियाँ दाह संस्कार खर्च उपलब्ध गराएको थियो ।