रोङ गाउँपालिका-१ का ३६ वर्षीय नारायण ढकालको डेङ्गी सङ्क्रणका कारण मृत्यु भएको छ ।
डेङ्गी सङ्क्रमित ढकालकको उपचारका क्रममा विराटनगर महानगरपालिका-४ स्थित नोवेल शिक्षण अस्पतालमा भदौ ११ गते मृत्यु भएको मृतकका भाई नरेन्द्र ढकालले बताउनु भयो ।
अत्याधिक ज्वरो आएपछि बिर्तामोडस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोवल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा प्लेटलेटको सङ्ख्या घटेर ज्यान गएको अस्पताल प्रशासनले जनाएको छ ।

जिल्लामा ०८० साउनदेखि ०८१ असारसम्मको एक वर्षको जिल्ला अस्पताल इलाममा १ हजार ८ सय १३ जना महिला र १ हजार ७ सय ८६ जना पुरूष गरी ३ हजार ५ सय ९७ जनाको डेङ्गी परीक्षण गरिएको अस्पतालका सूचना अधिकारी बाजस्पति भट्टराईले बताउनु भयो । जसमध्ये १ सय ८ जना महिला र १ सय १२ जना पुरूष गरी २ सय २० जनामा डेङ्गीको सङ्क्रमण देखिएको थियो ।
‘सङ्क्रमण देखिएकामध्ये सामान्य अवस्था भएकालाई होम क्वारिन्टिनमा बसेर औषधीउपचार गर्न लगाइयो भने केहीलाई अस्पतालमा उपचार गराइयो । जटिल अवस्था भएकालाई रेफर गरेर पठाउने गरिएको छ ।’ भट्टराईले भन्नुभयो, ‘हाल परीक्षण गर्न किट अभाव नभएको भट्टराईको भनाइ छ ।
जिल्लामा ०८१ वैशाखयतादेखि भदौ पहिलो सातासम्म डेङ्गीबाट १७ जनामा सङ्क्रमण पुष्टि भएर उपचाररत छन् । सूर्योदय नगरपालिका, माई नगरपालिका, चुलाचुली गाउँपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिकामा सङ्क्रमण पुष्टि भएको छ ।
जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्लाका नागरिकमा सङ्क्रमणको त्रास बढेको छ । विशेष गरी जिल्लाको सदरमुकाम आसपासमा यसको प्रभाव परेको स्वास्थ्य कार्यालयका प्रवक्ता विमल बरालले बताउनु भएको छ । यतिबेला डेङ्गीलगायत अन्य सरूवा रोगहरू भाइरल ज्वरो, रुघाखोकी, मौसमी ज्वरोसमेत बढेको छ ।
सङ्क्रमणको ग्राफ बढीरहेको डेङ्गीलाई नियन्त्रण गर्न के उपाय गरिरहनुभएको छ भन्ने जिज्ञासामा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आदित्य शाक्यले स्थानीय सरकारहरूसँग समन्वय गरी चेतनामूलक कार्यक्रमसँगै स्वास्थ्यकर्मीहरूको परिचालन गरी रोकथाम र उपचारमा समेत संलग्न गराइएको जानकारी दिनुभयो ।
कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार प्रदेशका १४ जिल्लामध्ये गत बैशाखयता सबैभन्दा बढी मोरङमा ४ सय १२ जनामा डेङ्गी संक्रमण भएको छ । यस्तै सुनसरीमा १ सय ९८, झापामा १ सय ४५, धनकुटामा १ सय १, भोजपुरमा ६६, संखुवासभामा ३६, ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङ्गमा ५, पाँचथरमा ४ र तेहृथुममा २ जनामा डेंगु संक्रमण देखिएको कोशी निर्देशनालयका अधिकृत भरत भण्डारीले जानकारी दिनुभयो । डेंगुबाट झापा र इलाममा एक-एक जनाको मृत्यू भएको समेत निर्देशनालयले जनाएको छ ।
प्रदेशका दुई वटा जिल्ला ताप्लेजुङ्ग र सोलुखुम्बुमा भने अहिलेसम्म डेंगु संक्रमित फेला नपरेको जनाइएको छ । केही वर्ष अघिसम्म तराईमा मात्रै देखिने डेंगु अहिले पहाडी तथा हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ । इलाम अस्पतालका डाक्टर प्रभु शाहका अनुसार, ज्वरो आउने, मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरिरमा रातो विमिरा आउनु, वान्ता हुनु,वाकवाकी लाग्नु नै संकमणका प्रमुख लक्षण भएकाले लामखुट्टेको टोकाईबाट बच्नसके डेङ्गीबाट जोगिन सकिन्छ ।