कर्णाली प्रदेशमा पाँच वर्षमुनिका बाल बालिकाको मृत्युदर वृद्धि हुँदै गएको छ । देशमा समग्र बाल मृत्युदर घट्दै गए पनि कर्णाली प्रदेशमा बाल मृत्युदर बढ्दै गएको तथ्याङ्कले जनाएको छ । कर्णाली प्रदेशको आर्थिक सर्वेक्षण २०८० अनुसार बाल मृत्युदर वृद्धि हुँदै गएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा बाल मृत्युदर ५७ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०७६/७७ मा ५७ प्रतिशतबाट बाल मृत्युदर ३४ प्रतिशतमा झरेको छ । आर्थिक वर्ष ०७७/७८ मा एक वर्षमै बढेर ६४ प्रतिशत पुगेको छ । यस्तै दुई आर्थिक वर्षमा बाल मृत्युदर स्थिर रहेको देखिन्छ । आर्थिक वर्ष ०७८/७९ मा ६८ प्रतिशत र आर्थिक वर्ष ०७९/८० मा ६८ प्रतिशत नै बाल मृत्युदर रहेको तथ्याङ्कले देखाएको छ ।
कर्णाली प्रदेश भर पूर्ण खोप प्राप्त गर्ने बालबालिकाको सङ्ख्य ८५.५ प्रतिशत भएको छ । तर जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार पाँच वर्षसम्मका बालबालिकाको पोषण अवस्था सुधारन्मुख देखिएको छ । ०७५ सालमा बालबालिकामा पुड्कोपना ५५ प्रतिशत रहेको थियो । ०८० सालमा ३६ प्रतिशतमा झरेको तथ्याङ्कमा देखिन्छ । यस्तै ०७५ सालमा स्याउटेपन ८ प्रतिशत रहेकोमा ०८० सालमा ४ प्रतिशतमा झरेको छ । ०७५ सालमा कमतौल भएका बालबालिका ३६ प्रतिशत रहेको थियो । ०८० सालमा आएर १८ प्रतिशतमा रहेको देखिन्छ ।
जनस्वास्थ्य कार्यालय, जुम्लाका प्रमुख कृष्ण सापकोटाले कर्णालीका केही जिल्ला बाहेक धेरैजसो जिल्ला दुर्गम भएको कारण बाल मृत्युदर वृद्धि हुने गरेको बताउनु भयो । प्रमुख सापकोटाले पछिल्लो समय कर्णाली प्रदेशमा बालबालिकाको स्वास्थ्य सेवा कमजोर देखिनुमा सबै ठाउँको सही तथ्याङ्क आउन नसक्नु, अहिलेसम्म नीति योजना र कार्यक्रम बनाउँदा समताको ख्याल गरेर बनाउनु पर्नेमा सो अनुसार बनाउन नसक्नु, समाजले निर्धारण गरेका मुल्यमान्यताहरू, बालविवाह, सानै उमेरमा बच्चा जन्माउने, समयमा अस्पताल नपुर्याउनु, दक्ष चिकित्सकको अभाव जस्ता प्रमुख कारणहरू भएको बताउनु भयो ।
अहिले पनि घरमै सत्केरी हुने गर्भवती महिलाको सङ्ख्या उत्तिकै छ । बिरामी पर्दा बच्चा सुत्केरी महिला सुविधा सम्पन्न अस्पतालमा पुर्याउन सकिने अवस्था छैन । पोषणमा सुधार आउन सकेको छैन । धामी झाँक्रीको भर परेर स्वास्थ्य संस्थामा नलैजाने चलन छ । यस्तै थुप्रै कारणले बाल मृत्युदर न्यूनीकरण हुन नसकेको प्रमुख सापकोटाले बताउनु भयो ।