फेदाप गाउँपालिका-४ स्थित श्री जलपा देवी आधारभूत विद्यालयको भवनमा कटानले क्षति पुर्याएपछि चौरमा राखेर परीक्षा सञ्चालन गर्नु परेको छ ।
विद्यालय भवनको मुनिबाट भएको कटानले भवनामा क्षति पुर्याएपछि दोस्रो त्रैमासिक परीक्षाको पहिलो दिन भदौ ६ गते बालबालिकालाई चौरमा राखेर परीक्षा सञ्चालन गरिएको छ ।
विद्यालयका प्रधानाध्यापक प्रियनारायण लिम्बूले ०८१ भदौ ५ गतेको वर्षापछिको पहिरो र कटानले विद्यालय भवनमा क्षति पुर्याएपछि बालबालिकालाई चौरमा राखेर परीक्षा सञ्चालन गरिएको बताउनु भयो । बाढीका कारण पहिरो र कटानले विद्यालय भवन भत्किएपछि बाल कक्षादेखि कक्षा ५ सम्म सञ्चालित विद्यालय बन्द गरिएको छ । कटानले विद्यालयको एक मात्र भवन भत्काएपछि भदौ ६ गतेदेखि सञ्चालित दोस्रो त्रैमासिक परीक्षा विद्यालयहरूले चौरमा बसेर दिनु परेको प्रधानाध्यापक लिम्बूले बताउनु भयो । विद्यालयमा २१ जना बालबालिका अध्ययनरत छन् ।
दोस्रो त्रैमासिक परीक्षा भदौ ६ गतेदेखि सञ्चालन गरिएको र पानी नपरेका कारण पहिलो दिनको परीक्षा सम्पन्न गरिएको भएपनि भोलिदेखिका परीक्षाका समयमा पानी पर्यो भने परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको प्रधानाध्यापक लिम्बूको भनाइ छ ।
पहिरो कटानले विद्यालयको भवनमा क्षति पुर्याएको र चौरमा समेत हिलो भएका कराण बालबालिकालाई पढ्न र परीक्षा दिनसमेत सकस भएको फेदाप गाँउपालिका-४ का वडाध्यक्ष भेषराज लिम्बूले बताउनु भयो । ०३९ सालमा स्थापना भएको विद्यालयको एक मात्र भवन पहिरोले बगाएपछि बालबालिकाको पढाइमा समस्या भएको वडाध्यक्ष लिम्बूको भनाइ छ ।
अहिले गाँउपालिकाका अध्यक्ष जिल्ला बाहिर जानु भएको छ । उहाँ आएपछि विद्यालयलाई उचित व्यवस्थापन गरिनेछ, वडाध्यक्ष लिम्बूले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो ।
पहिला विद्यालयको छेउ सल्लाका रूखहरू थिए, सल्लाको फुल फुल्दा त्यसबाट निस्कने झुसले विद्याथीलाई चिलाउने समस्या भएपछि रूखहरू काटेर काठको रूपमा प्रयोग गरियो, जमिन भिरालो भएकाले रूखको कटान भएपछि पहिरो र कटान लाग्दा विद्यालयको भवनमा क्षति पुग्यो, विद्यालयका शिक्षक बासु घिमिरेले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा भन्नुभयो ।
कटानका कारण विद्यालय भवनको दुई ओटा कोठामा पूर्ण रूपमा क्षति पुगेको छ । कार्यालयमा राखिएका शैक्षिक सामग्री र किताबहरू पहिरोबाट निकाल्न सकिएको छैन ।
विद्यालय भवन भत्किएको प्रहरी मुचुल्काका आधारमा गाँउपालिकाको निर्णयपछि विद्यालय भवनका लागि उचित व्यस्थापन गरिने प्रमुख जिल्ला अधिकारी मीना अर्यालको भनाइ छ ।

