उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतको सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र मकालु गाउँपालिका-३ र भोटखोला गाउँपालिका-४ को बीचमा रहेको एकुवा खोलाको पुलभोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाएपछि दुई महिनायता सडक अवरूद्ध भएको छ ।
सडक अवरूद्ध भएका कारण एम्बुलेन्स चल्न नसक्दा बिरामीलाई सास्ती भएको छ । खाद्यान्न, औषधिलगायतका दैनिक उपभोग्य सामग्रीको ढुवानीमा समस्या हुँदा सर्वसाधारणले हैरानी खेप्नु परेको छ ।
उत्तर दक्षिण कोशी राजमार्ग ०८१ असारको पहिलो सातादेखि पूर्ण रूपमा अवरूद्ध भएका कारण एम्बुलेन्स चल्न सकेका छैनन् । जसका कारण बिरामीले सबैभन्दा बढी सास्ती र हैरानी खेप्नु परेको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो ।
जिल्ला सदरमुकाम खाँदवारी जोड्ने सडकको पुल बाढीले बगाएपछि आवातजावत अवरूद्ध हुँदा एम्बुलेन्स समेत चल्न सकेका छैनन् । जसका कारण आकस्मिक अवस्थामा अस्पताल पुर्याउन पर्ने बिरामीले सबैभन्दा बढी हैरानी पाएको गाउँपालिका अध्यक्ष वाङछेदर भोटेको भनाइ छ ।
मकालु गाउँपालिका-३ स्थित एकुवा खोलामा पक्की पुल बगाउदा भोटखोलाका बिरामी र सर्वसाधरणलाई मार्कामा परेको अध्यक्ष वाङछेदर भोटेले बताउनु भयो । पहिरोले मकालु गाउँपालिका-३ र भोटखोला गाउँपालिका-४ को बीचमा रहेको एकुवा खोलाको पुल ०८१ असार पहिलोसाताको बाढीले बगाएपछि भोटखोलामा खाद्यान्न, औषधिलगायतका सामग्री दुई महिनायता पुर्याउन सकिएको छैन । जसका कारण भोटखोला गाउँपालिकाका स्थानीयको जनजीवन प्रभावित भएको छ ।
पहिरोले पक्की पुल र सडक बगाएपछि जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता, बिरामीलाई कठिन भएको गाउँपालिका अध्यक्ष भोटेको भनाइ छ ।
सदरमुकामबाट भोटखोला जाने प्रमुख मार्ग दुई महिनायता अवरूद्ध हुँदा सर्वसाधारण मर्कामा परेको भएपनि पुल निर्माणका लागि सङ्घीय सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । उत्तर-दक्षिण राजमार्गमा पर्ने २० मिटर लामो पक्की पुल बाढीले बगाएपछि भोटखोला गाउँपालिकासँग सदरमुकामको सम्पर्क टुटेको छ ।
पहिरोले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलरसहित बगाउँदा ४ करोड रुपियाँ बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । उक्त क्षेत्रमा यातायात सुचारू असोजपछि मात्र हुने उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ ।
भोटखोलाको किमाथाङ्का उच्च हिमाली क्षेत्र भएका कारण त्यहाँ कोदो, मकै र आलुबाहेक खाद्यान्न उत्पादन हुँदैन । उत्पादन भएका खाद्य वस्तुले दुई-चार महिना मात्र पुग्ने गरेको छ ।
बाढीले पुल बगाएर सदरमुकामसँगको सम्पर्क टुटेपछि भोटखोला गाउँपालिकामा खाद्यान्न ढुवानीमा समस्या हुँदा खाद्यान्न, औषधिलगायतका सामग्रीको अभाव हुन थालेको भोटखोला गाउँपालिकाले जनाएको छ ।

