INSEC Online

📅 २०८३ जेष्ठ २१

गिरीघाटका बाढीपीडित भन्छन् – पहिले प्रकृति र अहिले राज्यले पीडा दियो !

बराहताल गाउँपालिका-८ स्थित गिरीघाटको बाढीपीडित शिविरमा बसिरहेका ५८ वर्षीय शेरबहादुर कामीको १० कट्ठा जमिन २०७१ साल साउन २८ र २९ गते भेरी नदीमा आएको बाढीले बगायो । त्यसपछि घरबारविहीन हुनुभएका उहाँको परिवार अहिले छाप्रोमा ओत लागेर बस्न बाध्य छ । चार जनाको परिवार पाल्न उहाँ वीरेन्द्रनगर बजार क्षेत्रमा मजदुरी गर्नुहुन्छ । उहाँले कमाएर नल्याए चुल्हो बल्दैन । छोराछोरी सानै छन् । पत्नी पनि दीर्घरोगी हुनुहुन्छ । उमेर ढल्किँदै गएपछि पहिलाजस्तो काम गर्नमा समस्या भोग्नुभएका शेरबहादुर पुर्नस्थापनाको पर्खाइमा हुनुहुन्छ ।

Photo18082024Surkhet.

‘हामीलाई सरकारबाट पुर्नस्थापना हुन्छ भन्ने आस नै मरिसक्यो । बरु उल्टै बस्ती खाली गर्न सरकारी निकायबाटै दबाब आएको छ । अब कहाँ जाने ? के खाने ? परिवारमा चिन्ता बढेको छ । पहिले बाढी र अहिले राज्यलाई हामीलाई पीडा दिएको छ’, उहाँले भन्नुभयो । सोही ठाउँकी ३० वर्षीया गीता विकको दैनिकी पनि बाढीपीडित शिविरमा दुःख काटिरहनुभएको छ । जीविका चलाउने गुजाराको कुनै उपाय नभएपछि उहाँका पति मजदुरीका लागि भारतमा हुनुहुन्छ । उहाँले पैसा नपठाए गीतालाई घरखर्च टार्न समस्या पर्छ । ‘सुरुमा गिरीघाट र काँसीगढ खोलाबाट गिट्टी, बालुवा र जंगलबाट दाउरा संकलन गरेर अलिअलि आर्थिक जोहो हुन्थ्यो । तर, अहिले गिट्टी, बालुवा बिक्री हुन छाडियो । सामुदायिक वनले दाउरा काट्न दिँदैनन्’, उहाँले भन्नुभयो ।

त्रिपालमुनि विशेषगरी महिला तथा बालबालिकालाई बढी समस्या हुने गरेको बाढीपीडित सङ्घर्ष समितिकी अध्यक्ष सिर्जना विकले बताउनु भयो । ‘महिनावारी भएका बेला महिला र किशोरीलाई समस्या हुन्छ । अझ सडकको छेउमा खुला झुप्रामा हुर्केका छोरीहरूलाई गलत दृष्टिकोण भएका व्यक्तिबाट जोगाउनै मुस्किल छ । मजदुरीका लागि पुरुष भारतमा छन् । उचित बासको व्यवस्थापन नहुँदा बालबालिकाको पढाइमा पनि ठूलो असर परेको छ’, अध्यक्ष विकले भन्नुभयो ।

२०७१ साउन २८ र २९ गते भेरी नदीको बाढी सुर्खेतका साविक लेखपराजुल, वीरेन्द्रनगर, हरिहरपुर गाविसका विभिन्न बस्तीमा पस्यो। जसबाट १ हजार ४५ परिवारको उठीवास भयो । जिल्ला प्रशासन कार्यालयका अनुसार त्यसबेला बाढीपहिरोबाट सुर्खेतका विभिन्न ठाउँमा गरी १ हजार १ सय ५९ घर पूर्ण रूपमा तथा २ सय ५५ घर आंशिक रूपमा क्षति भयो । घटनामा २५ जनाको मृत्यु भयो भने ९१ जना बेपत्ता भए । त्यसबेला विस्थापित परिवार हाल वीरेन्द्रनगरको महिला प्रशिक्षण केन्द्र, भेरीगङ्गाको पाँडुले र वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिकाको सिमाना गिरीघाटमा त्रिपालको भरमा बसिरहेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि नौ किलोमिटरको दूरीमा रहेको बराहताल गाउँपालिका–२, गिरिघाट खोला किनारमा त्रिपालले छाएको बस्ती भेटिन्छ । कर्णाली राजमार्गको छेउमै कोही खरको छानो हालेर त कोही पाल टाँगेर बसेका छन् । गिरीघाटमा हाल ९५ भन्दा बढी परिवार पालको भरमा जिन्दगी कटाइरहेका छन् । २०७१ को बाढीमा परेर बराहताल गाउँपालिका सिस्नेरीमा नौ जना, पाग्मामा दुई जना, दुबिचौरमा ६ जना र थापाडेरामा १० जनाको ज्यान गयो । सिस्नेरीबाट ३२ परिवार विस्थापित भए । साविक हरिहरपुर गाविस वडा नम्बर १, २, ३, ४, ५ र ६ स्थित भेरी नदी किनारका बस्तीमा बाढी पसेको थियो ।

बाढीले घरबारविहिन बनाएको पनि १० वर्ष पूरा भएको छ । बाढीले सबै सम्पत्ति बगाएपछि उनीहरू टहरोमा बसेर बिहान–बेलुकीको छाक टार्न सङ्घर्ष गरिरहेका छन् । बाढीले भएभरको जग्गा बगरमा परिणत गरिदिएपछि अन्यत्र जग्गा किनेर घर बनाउने क्षमता उनीहरूको छैन । अहिले उनीहरू बसिरहेको छानोले हावा, पानी, घाम थेक्नै सक्दैन । अर्कातिर वन कार्यालयले पनि राजमार्गको छेउमा बसेको भनेर पटक–पटक बस्ती हटाउन दबाब दिएपछि उनीहरू दोहोरो मारमा परेका छन् ।

गिरीघाटमा आश्रय लिइरहेका बाढीपीडितहरू गिट्टी कुट्ने, बालुवा चाल्ने, दाउरा काट्ने, ट्याक्टरमा समान लोड/अनलोड गर्ने गरेर जिविका चलाइरहेका छन । स्थानीय सरकारले पनि आफूहरूका विषयमा कुनै चासो नदिएको बाढीपीडितको गुनासो छ ।

अन्य

भिडियो