INSEC Online

📅 २०८३ जेष्ठ २१

जातका आधारमा गरिने विभेद कायमै, दलित समुदायले दुध बिक्री गर्न दलित ग्राहक नै खोज्नु पर्ने बाध्यता !

दिपायल सिलगढी नगरपालिका–५ धामीगाउँमा दलित समुदायका किसानहरुले उत्पादन गरेको दुध बिक्री गर्न समस्या हुने गरेको छ । दलित भएकै कारण जातका आधारमा विभेद गरी आफूहरुले उत्पान गरेको दुध गैरदलित समुदाय तथा होटेलहरुमा समेत लिन नमानेपछि दलित किसानहरुले ग्राहक पनि दलित नै खोज्न पर्ने बाध्यता रहेको दलित कृषकहरुको गुनासो छ ।

आफुले पालेको भैसीको दुध स्थानीय सिलगढी बजारमा भाडामा बस्दै आउनुभएका एक जना गैरदलित परिवारलाई नियमित ग्राहक बनाएको दुई दिनमै दलित भएको थाँहा पाएपछि छोराले दुध खाँदैन अब दुध नल्याउनु भरेर दुध किन्न अस्विकार गरेको दिपायल सिलगढी नगरपालिका–५ धामीगाउँकी दुर्गा पार्कीले गुनासो गर्नु भयो ।

दुर्गा मात्रै होइन धामीगाउँकै गंगा पार्कीको पनि व्यथा उस्तै छ । गंगाले सिलगढीकै एक स्थानीयको घरमा नियमित ग्राहक बनाएर चार दिनसम्म नियमित दुध दिनेगरेको भए पनि चार दिनपछि आफू दलितभएको थाँहा पाएपछि विभिन्न बहाना बनाएर दुध लिन अस्विकार गरिएको गंगा पार्कीले दुखेसो पोख्नु भयो ।

गैरदलित समुदायले दुध खरिद नगर्ने भएपछि दलितले पालेका गाइभैँसीको दुध बिक्री गर्न अर्को दलित परिवार नै खोज्नु पर्ने वाध्यता सृजना भएको पार्कीको भनाइ छ ।

गंगा र दुर्गा प्रतिनिधि पात्र मात्रै हुन । यस्ता समस्याबाट जिल्लाका सबै दलित पशुपालक किसानहरु पीडित बन्दै आएका छन् । थाँहा नपाएसम्म दुध खरिद गरेपनि दलित भन्ने थाँहा पाएपछि कुनै न कुनै बाहानामा गैरदलित समुदाय तथा होटेलहरुमा समेत दुध नकिन्ने गरेको सिलगढी दलित महिला सञ्जालकी अध्यक्ष नन्दा पार्कीले बताउनु भयो ।

धामीगाउँकै नरु पार्की दैनिक ६ लिटर दुध बिक्री गर्नु हुन्छ तर उहाँका सबै ग्राहक दलित समुदायका नै छन् । उहाँ भन्नु हुन्छ, ‘गैरदलितले आफूहरुको दुध नै किन्नु हुन्न् । किन्नु भएकाहरुले पनि थाँहा पाउनु भयो भने बिभिन्न बहानमा दुध किन्न अस्विकार गर्नु हुन्छ । त्यसैले हाम्रै समुदायका व्यक्तीहरु भएको ठाउँमा दुध बिक्री गर्ने गरेको उहाँले बताउनु भयो ।

प्रत्येक्ष रुपमा गरिने जातीय विभेदमा केही कमी आएको भए पनि अप्रत्येक्ष रुपमा गरिने जातीय विभिद थप जटिल बन्दै गएकोले दलित भएकै कारण दलित समुदायले उत्पादन गरेका दुधजन्य बस्तुहरु बिक्रीवितरण नहुँदा दलित समुदायलाई विहानबेलुकिको छाँक टार्न नै समस्या हुनेगरेको दलित अभियान्ता बबिकुमार बिसिले बताउनु भयो ।

जातका आधारमा गरिने विभेद तथा यसप्रकारका कार्यहरु कानुन बिपरित भएको हुँदा जातका आधारमा गरिने विभेद क्षम्य नहुने र जातीय विभेद गरिएको भनेर उजुरी आएमा कानुन अनुसार कारबाही गरिने प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले बताउनु भयो ।

नेपालको संबिधानको धारा २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाती, समुदाय, पेशा, व्यावसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि नीजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछूत वा भेदभाव गरिने छैन् भनियता पनि जातका आधारमा विभेद भइरहेको दलित अधिकारकर्मी शंकर विश्वकर्माले बताउनु भयो ।

अन्य

भिडियो