विराटनगर महानगरपालिका-७ स्थित गोल्डेन अस्पतालले उपचार खर्च नतिरेको भनि बन्धक बनाएका दाजुबहिनी इन्सेकको पहलमा रिहा भएका छन् ।
खर्च अभावका कारण ०८१ जेठयता गोल्डेन अस्पतालमा बन्धक बनाइएका सुनसरी जिल्ला, कोशी गाउँपालिकाका-७ हरिपुरका १८ वर्षीय देवकिसनकुमार मण्डल र १६ वर्षीया बालिका सविताकुमारी मण्डल इन्सेकले अस्पताल प्रशासनसँग गरेको पहलपछि साउन २९ गते रिहा भएका हुन् ।
जेठयता दाजु बहिनीलाई अस्पतालले बन्धन बनाएको पीडितका बाबु साधुलाल मण्डलले इन्सेक प्रदेश कार्यालय विराटनगरमा गुनासो गरेपछि इन्सेकले पहल गरेको हो ।
खर्च अभावका कारण अस्पतालले बन्धक बनाएपछि इन्सेक प्रदेश कार्यालयमा पीडित पक्षले गुनासो गरेसँगै इन्सेकले पीडित पक्षलाई राष्ट्रिय मानव अधिकार आयोग, विराटनगरमा उजुरी दिन सहजीकरण गरेको थियो ।
इन्सेककर्मीहरू मनोहर पोखरेल, इन्सेक सुनसरी प्रतिनिधि जयकिशन यादव, मोरङ प्रतिनिधि विनोद सुवेदीसहित अधिकारकर्मी र पत्रकारहरूको टोलीले अस्पताल प्रशासनसँग बन्धकका विषयमा जानकारी लिनुका साथै छलफल गरेको थियो ।
छलफलका क्रममा अस्पतालका सिइओ डाक्टर जियावुल हकले उपचार खर्च बापत १ लाख १० हजार रुपियाँ नतिरेका कारण दाजु बहिनीलाई छाड्न नसकिएको बताउनु भयो ।
विपन्न परिवारका दाजुबहिनीलाई आपसी विवादका क्रममा ०८१ असार १ गते छिमेकीहरू बच्चा ठाकुर र श्याम ठाकुरको कुटपिटबाट घाइते भएका थिए । कुटपिट गर्ने छिमेकीहरू फरार भएका कारण कुटपिट गर्नेबाट समेत उपचार खर्च भराउन सक्ने अवस्था नभएका कारण दुवै जनालाई अस्पतालमा राखिएको डाक्टर जियावुल हकले बताउनु भयो ।
बाबु साधुलाल मण्डल भारतको पञ्जावमा मजदुरी गर्न गएका कारण आमाले उपचारका लागि अस्पताल ल्याउनु भएको थियो । ०८१ असार १ गते विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना भएका दाजु बहिनीले अस्पताललाई उपचार खर्च तिर्न नसक्दा बाबुले उपचार खर्च भुक्तानी गर्न सक्नु भएको थियो ।
बाबु साधुलालले पञ्जावबाट ल्याएको रकम र केही रकम स्थानीयबाट चन्दा सङ्कलनसमेत गरी २० हजार रुपियाँ अस्पताललाई बुझाएको बताउनु भयो ।
तर, अस्पतालले कहिले ५ लाख, कहिले ३ लाख रुपियाँ बुझाउनुपर्छ भन्दै छोराछोरी छाड्न नमानेपछि आफू समस्यामा परेको साधुलालले गुनासो गर्नु भयो । उहाँले विभिन्न राजनीतिक दलका नेताहरूलाई पहल गरेर ५५ हजार रुपियाँमा छाड्ने भनेपनि ५५ हजार रुपियाँ भुक्तानी गर्दा समेत नछाडेको बताउनु भयो । इन्सेककर्मीसँग साधुलालले भन्नुभयो ‘नेताहरूसँग ५५ हजार रुपियाँ तिरे छाडिदिने भनेको तर, ५५ हजार रुपियाँ तिर्छु भन्दा अस्पतालले छाड्न मानेन ।’ इन्सेककर्मीहरूसहित पत्रकारहरूको टोलीले अस्पताल प्रशासनसँग कुरा गर्दा पनि अस्पतालका सिइओले पुरै पैसा तिर्नुपर्ने बताउनु भएको थियो ।
तर, दुवैपक्षलाई राखेर इन्सेकले पहल गरेपछि अस्पताल प्रशासनले ५५ हजार रुपियाँ भुक्तानी गरे रिहा गर्ने बताएपछि इन्सेककर्मीले सहमति कार्यलाई अघि बढाएका थिए । पीडितका बाबु साधुलालले गाउँमा ऋण गरेर ल्याएको ५५ हजार रुपियाँ अस्पताललाई बुझाएर छोरा छोरीलाई छुटाएको बताउनु भयो । इन्सेकले पहल गरेपछि अस्पताल प्रशासनले साउन २९ गते ५५ हजार रुपियाँ बुझेर छोराछोरीलाई रिहा गरेको साधुलाल ठाकुरले बताउनु भएको छ ।



