INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रहरी र प्रदर्शनकारीबिच झडप, प्रहरीको गोली लागि एक सर्वसाधारणको मृत्यु

एक बालकको ‘शङ्कास्पद मृत्यु’ प्रकरणमा प्रहरी अनुसन्धान फितलो भएको भन्दै मृतकका आफन्त र स्थानीयबासीले बिर्तामोडमा कात्तिक १० गते निकालेको विरोध र्‍यालीमा प्रहरीले हस्तक्षेप गर्दा भएको झडपमा परी एक जनाको मृत्यु भएको छ । गोली लागेर अर्जुनधारा नपा-११ का ३२ वर्षीय नरेश थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रबरको गोली लागेर ६ जना गम्भीर घाइते भएका छन् । सामान्य घाइते हुनेको सङ्ख्या ५० भन्दा बढी रहेको जनाइएको छ । उनीहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ ।

झापा अर्जुनधारा नगरपालिका-११ का ११ वर्षीय बालक लक्ष्मण सिवाकोटीको ०७४ असोज १४ गते दसैँको टिकाको दिन भएको मृत्यु शङ्कास्पद भएको भन्दै घटनाका सम्बन्धमा आफन्तले दिएको उजुरी उपर प्रहरी अनुसन्धान फितलो भएको आरोप लगाउँदै आफन्त र स्थानीय गाउँले आन्दोलित भएका हुन् ।

Photo20171027Jhapa (2)

बिर्तामोड मुक्ति चोकको एक किलोमिटर वरिपरी प्रहरी र प्रदर्शनकारीबिच पटकपटक झडप भएपछि अपरान्हदेखि स्थानीय प्रशासनले बिर्तामोडको दुई किलोमिटर क्षेत्रमा अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रदर्शनकारीले कर्फ्यू आदेश उल्लङ्घन गर्दै इलाका प्रहरी कार्यालयसँग जोडिएको यान्त्रिक कार्यालयमा आगजनी गरेका थिए भने सोही कार्यालयको चार ओटा कार्यालय कक्ष, एउटा ट्याक्टर, एउटा डोजर, नया हाईलेक्स गाडी, अलकत्र बोक्ने ठूलो ट्याङ्करसमेत आगो लगाई पूर्ण रूपमा ध्वस्त बनाएका थिए ।

प्रदर्शनकारीले बिर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार सिवाकोटीको बिर्तामोड नपा-५ मा रहेको घरमा पनि तोडफोड गरेका छन् । घरको कम्पाउण्डभित्र राखिएको बिर्तामोड नगरपालिकाको गाडी र अर्को निजी गाडीमा तोडफोड गर्नुका साथै मोटरसाइकलमा आगजनी गरी क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।Photo20171027Jhapa (3)

बिजयादशमीको दिन बिहान आफन्तको घरमा जुत्ता लिन गएका ११ वर्षीय सिवाकोटीको शव भोलिपल्ट बिहान बिर्तामोड नगरपालिका-१ को बैशावाडीमा फेला परेको थियो । शरीरका विभिन्न भागमा चोट देखिनुका साथै अन्डकोष पनि काटिएको अवस्थामा शव फेला परेपछि आफन्त र गाउँलेले घटनालाई ‘हत्या’ भन्दै गम्भीर छानबिनको माग गर्दै आएका थिए ।

घटनापछि मेची अञ्चल अस्पताल भद्रपुरले बालकको शव पोष्टमाष्र्टम गर्न अस्वीकार गर्दै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको थियो ।

घटना लगत्तै उजुरी दिन पुगेका आफन्तलाई इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी राजकुमार सिल्वालले ‘हप्काएर’ पठाएपछि उनीहरूले आन्दोलन सुरु गरेका थिए ।

आक्रोशित प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा आगजनी गर्ने प्रयास गरेका थिए । तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा प्रहरीले ३५ जनालाई गिरफ्तार गरेको पीडित जनाइएको छ । घटनामा ४० जनाभन्दा बढी प्रहरी घाइते भएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो