१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा घोराहीका १३, १४, १४ र १५ वर्षीय चार जना बालकलाई जिल्ला अदालतले तीन–तीन महिना कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधिश प्रकाश प्रसाद पण्डितको इजलासले असार १२ गते दोषी ठहर गर्दै उनीहरुलाई जनही तीन–तीन महिना कैद गर्ने फैसला गरेको हो । तर नाबालक भएकाले तोकिएको कैदको आधा सजाय मिनाह गर्दै बचेको ४५ दिनको कैद सजाय पनि विद्यालय पठन पाठनमा सहजताका लागि अदालतले स्थगन गर्ने निर्णय गरेको छ । यद्यपी उनीहरुले भविष्यमा कुनै खालको फौजदारी कसुर गरे त्यसमा यो स्थगन गरिएको ४५ दिनको सजाय पनि भुक्तानी गर्नुपर्ने जिल्ला अदालतलका स्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिनुभयो ।
चार जना बालकले ०८३ वैशाख १४ गते बालिकामाथि यौन दुर्व्यवहार गरेको भन्दै वैशाख १५ गते पीडित पक्षले जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई वैशाख १५ गते घरबाटै गिरफ्तार गरी जिल्ला सरकारी वकिलमार्फत वैशाख ३० गते बालयौन दुरुपयोग सम्वन्धी मुद्दा चलाएकोमा जिल्ला न्यायाधिश टिकेन्द्र दाहालको इजलासले वैशाख ३१ गते अभिभावकको जिम्मा लगाएको थियो । पीडितको स्वास्थ्य परीक्षण वैशाख १५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको थियो ।