दैलेख जिल्लाको सदरमुकाममा खानेपानीको समस्या हुँदा स्थानीयलाई सास्ती भएको छ । महाबुमा गुरु पूर्णिमाका दिनमा भदौ २ गते लाग्ने महाबु धार्मिक मेलामा जाने यात्रुहरूको सुविधाको लागि सडक मर्मत गर्न लाग्दा सडक ओखरबासमा लगातार पहिरो खसेको कारण त्यही पहिरोले जिआइ पाइप चुँडाइदिएपछि सहारे मुहानबाट आइरहेको दैलेखबजारको खानेपानी आपूर्ति अवरोध भएको हो ।
काम विशेषले दैलेख जिल्लाको सदरमुकाम पुगेका सबैले मिनरल बोतलको पानी किनेर खानुपर्ने अवस्था आएको छ । होटल, कार्यालय र सार्वजनिक शौचालय सबैजसो बन्द छन् । एक सातादेखि खानेपानी आपूर्तिमा अवरोध भएकोले सदरमुकाममा यो अवस्था आएको हो । जिल्ला प्रशासन कार्यालय, नारायण नगरपालिका र महाबु गाउँपालिकाको आग्रहमा सडक विभाग सुर्खेतले सदरमुकामदेखि महाबुधामसम्म मर्मत गर्न थालिएको काम ४२ किलोमीटर मध्ये करिब ३० किलोमीटर दुरीमा रहेको ओखरबास पहिरोले सडक सम्पर्क र खानेपानी आपुर्तिमा अवरोध पैदा भएको हो ।
त्यही ठाउँमा गत महिना गएको पहिरोमा करिब १५ दिन नेपाली सेना, नारायण नगरपालिका खानेपानी कार्यालय लगायतको अथक प्रयासले खानेपानी सुचारु गरिएको र फेरि पहिरोले अवरोध पुर्याएको जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो । सडक विभाग सुर्खेतले चार ओटा डोजर प्रयोग गरिरहेको भए पनि पहिरो हटाउन नसकेको उहाँको भनाइ छ । भिरालो भुबनौटको कारण विकल्पमा सडक लैजाने स्थिति पनि नभएको महाबु गाउँपालिकाका कार्यवहाक अध्यक्ष मञ्जु पाण्डेले जानकारी दिनुभयो । ‘दिनभर ठेकेदारको टोलीले काम गर्छ, साँझ बगिहाल्छ’, उहाँले भन्नुभयो ।
ओखरबासको पहिरोले खानेपानी आपूर्ति रोकिएपछि १० हजारभन्दा बढी उपभोक्ता रहेको दैलेख सदरमुकामका बासिन्दाहरू छिमेकी गाउँका मुहानहरूमा भिड लाग्ने गरेको छ । २०३२ मा १८ किलोमीटर दुरीको कालेखोलाको मुहानबाट ल्याएको पानी अपुरो भएपछि २०६६ मा ३५ किलोमीटर टाढाको सहारे मूलखोलाको पानी ल्याएपछि सदरमुकाममा खानेपानी प्रयाप्त भएको थियो । सदरमुकाममा चलिरहेको एक महिने वर्षे मेला चलिरहेको, दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन् हेर्न आउने र मध्यपहाडी राजमार्गमा यात्रा सहज भएकोले पर्यटक बढेको यो समयमा पानीको खपत बढेको बेला खानेपानी अवरोध भएको छ ।
पर्यटक बढेको यो समयमा पानीको खपत बढेको बेला छिटो छरितो खानेपानी आपुर्तिको प्रयास भइरहेको तर प्राकृतिक समस्याले सबै प्रयासहरु असफल भएको नारायण नगरपालिका खानेपानी समितिका कार्यालय प्रमुख इञ्जिनियर राजन खड्काले जानकारी दिनुभयो । धेरै प्रयासपछि कालेखोला मुहानको पानी आपुर्ति भएकाले सदरमुकामको गहिरो भागतिर चाहीँ केही सानो मात्रामा पानी पठाउने प्रयत्न भइरहेको इञ्जिनियर खड्काले जानकारी दिनुभयो । कालेखोला प्रति सेकेण्ड चार लिटर र सहारेको प्रति सेकेण्ड २० लिटर क्षमताको पानी नै सदरमुकामको खानेपानी श्रोत हो ।

