भोक्राहा नर्सिङ गाउँपालिका-७ नर्सिङ दलित सुकुम्बासीबस्तीका ५४ वर्षीय शिवन मरिकको दलित भएकै कारण जनप्रतिनिधि र शिक्षकले घर तोडफोड गरेको घटनामा इन्सेकले स्थलगत अनुगमन गरेको छ ।
भोक्राहा नर्सिङ गाउँपालिका-७ नरसिंह स्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक जदुलाल साह र भोक्राहा नर्सिङ गाउँपालिका-७ का वडाध्यक्ष बौवालाल यादवले ०८१ साउन २३ गते शिवन मरिकको घर तोडफोड गरेका थिए ।
पीडितले आफू मरिक दलित भएकै कारण शिक्षक र जनप्रतिनिधिले घर तोडफोड गरेको आरोपमा न्यायका लागि पहल गरीदिन इन्सेकलाई निवेदन दिएपछि इन्सेक, सुनसरीले साउन २५ गते घटनाको स्थलगत अनुगमन गरेको हो ।
इन्सेक सुनसरी, प्रतिनिधिले दलितमाथि भएको अन्याय र आवासको अधिकारसँग जोडिएको विषयमा अनुगमनपछि आरोपित पक्षसँग घटनामा विषयमा जानकारी लिनु भएको छ ।
इन्सेक प्रतिनिधिले शिवन मरिक ५० औँ वर्षदेखि सोही स्थानमा बसोबास गर्दै आएको र हाल पक्की घर निर्माण गर्ने क्रममा आरोपितहरूले भत्काएको अवस्था अवस्था देखिएको अनुगमनका क्रममा पाउनु भयो ।
अनुगमनका क्रममा पीडितले निर्माणा गरिरहेको पक्की पर्खाल भत्काइएको, पीडितले सुत्नका लागि प्रयोग गरिरहेको विस्तारा हटाइदिएको, ११ बोरा सिमेन्ट, तीन जना मजदूर र दुई जना मिस्त्रीको ज्यालासाथै ५ सय ओटा इट्टामा क्षति पुर्याइएको पाइएको छ ।
अनुगमनका क्रममा इन्सेक प्रतिनिधिसँग पीडित मरिकले वडाध्यक्ष र प्रधानाध्यापकले अरूको घर नभइ मरिकको घर स्कूलको जग्गाको छ भन्दै भत्काएको आरोप लगाउनु भयो ।
शिक्षक र वडाध्यक्षले घर भत्काइ दिएपछि बास बस्न समस्या भएको पीडितले इन्सेक प्रतिनिधिसँग अनुगमनका क्रममा बताउनु भएको छ ।
इन्सेक अनुगमनका क्रममा शिवन मरिककी पत्नी कुमारी मरिकले जनता मावि स्कूलको जग्गामा ७० ओटा बढी घरटहरा र पक्की संरचना समेत रहेकोमा अरूलाई केही नगरी आफू मरिक दलित सुकुम्बासी भएकोले घरमा बस्न नदिने भन्दै तोडफोड गरिएको बताउनु भयो ।
दलित भएकै कारण घर भत्काइएको भन्दै पीडित शिवन मरिकले पत्नी, आठ र १४ वर्षीया छोरी र १६ वर्षीय र १८ वर्षीय छोरालाई सुरक्षितसाथ बास बस्ने अवस्था नरहेको इन्सेक अनुगमनका क्रममा बताउनु भयो ।
इन्सेकले दलित र आवासको अघिकारका विषयमा चासो देखाएर घटनाको स्थलगत अनुगमन गरेपछि भोक्राहा नर्सिङ गाउँपालिकाका अध्यक्ष अजमल अख्तर आदाज, कोशी प्रदेश सभा सदस्य हाजी इसराइल मञ्सुरी समेतले घटनाका विषयमा जानकारी लिनु भएको छ ।
जनता मावि नरसिंहका प्रधानाध्यापक जदुलाल साहले मरिकले पक्की संरचना बनाउन लाग्दा नबनाउन भन्दै केही इट्टा मात्र हटाइदिएको बताउनु भएको छ । सरकारी जग्गा भएकाले पक्की संरचनामा रोक लगाएको तर कुनै जातीय विभेदको काम नगरेको प्रधानाध्यापक साहको भनाइ छ ।
भोक्राहा नरसिंह गाउँपालिका-७ का वडाध्यक्ष बौवालाल यादवले प्रहरी र प्रधानाध्यापकले बोलाएपछि घटनास्थलमा पुगेको तर अनाधिकृत रूपमा घरमा पसेर तोडफोड नगरेको बताउनु भएको छ ।
इन्सेक अनुगमनका क्रममा भोक्राहा नर्सिङ गाउँपालिका-७ का पूर्व वडाध्यक्ष रामचन्द्र यादवले दलितमाथि अन्याय भएको बताउनु आरोप लगाउनु भएको छ ।
नेपालको संविधानले धारा ३७ मा आवासको हकलाई व्याख्या एवम् व्यवस्था गरेको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुने उल्लेख छ ।
संविधानले धारा ४० मा दलितको हकको व्यवस्था गरेको छ । सोही धाराको उपधारा ५ मा राज्यले भूमिहीन दलितलाई कानुनबमोजिम एक पटक जग्गा जमिन उपलब्ध गराउनुपर्ने, उपधारा ६ मा राज्यले आवासहीन दलितलाई कानुनबमोजिम बसोबासको व्यवस्था गर्ने उल्लेख छ ।




