साउने झरीमा पनि मेलौली नगरपालिकाको–७ को काँडा बजारका स्थानीयलाई एक जर्किन पानी भर्न चार दिन पालो कुर्नु पर्ने बाध्यता छ । पालो कुरेर बसे पनि पानी भर्न पाउने–नपाउने टुङ्गो हुँदैन, पीडित स्थानीय भन्छन्, पालो आएन भने खोलातिर झर्नु पर्छ । खानेपानी नहुँदा प्राथमिक स्वास्थ्य केन्द्र, आयुर्वेदिक औषधालय, मणिलेक नमुना मावि र मेलौली बहुमुखी क्याम्पसमा समेत समस्या उत्पन्न भएको छ ।।
१ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मणिलेक नमूना माविमा पानीको समस्याले शौचालय बन्द गर्नु पर्ने अवस्था आएको शिक्षक अर्जुन कुँवरले बताउनु भयो । बजारमा डेरा गरेर बस्ने क्याम्पसका विद्यार्थीहरुलाई पढाइ भन्दा खानेपानी भर्नकै चिन्ता हुने गरेको प्रधानाध्यापक भीमसिंह धामीले बताउनु भयो ।
पानी नहुँदा स्वास्थ्य संस्थामा प्रसूति सेवा दिन गाह्रो भइरहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी सन्जिन केसीले बताउनु भयो । यस स्वास्थ्य केन्द्रले मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकासम्मका बिरामीको उपचार सेवा प्रदान गर्दै आएको छ । स्वास्थ्य संस्थामा पानी नहुँदा उपचार सेवा पनि प्रभावित बनेको उहाँले बताउनु भयो । बर्षाको बेला झरी लागे पनि खानेपानीको हाहाकार नै मच्चिएको छ ।
पानीको मुहान घट्यो, जनसङ्ख्या बढ्यो !
मेलौली नगरपालिकाको स्थापनासँगै काँडाबजार स्थानीय बजारका रूपमा विकास भएको छ । गाउँबाट बजारमा बसाइँ सर्नेको सङ्ख्या दिनप्रतिदिन बढेको छ । पाटन–पञ्चेश्वर सडक कालोपत्रे भएसँगै बजार विस्तार हुँदा जनसङ्ख्या पनि बढेको हो । बजार क्षेत्रमा जनसङ्ख्या बढे पनि पानीको मुहान भने सुकेर घटेदैगएको छ । १४ किलोमिटर टाँढा रहेको ग्वाल्लेक वनको मुहानबाट मेलौलीको काँडा बजारमा पानी आउने गरेको छ । मुहानमाथि डोजर लगाएर सडक खन्दा मुहान सुकेको स्थानीय उपभोक्ता समितिका सचिव दशरथसिंह नायकले बताउनु भयो ।
डोजरलगायत जथाभाबी रूपमा सडक निर्माण गर्दा खानेपानीका पाइप समेत टुटफुट भएको उपभोक्ताहरुको गुनासो छ । भएको मुहान संरक्षण गरेर अर्को मुहानको पानी थप्न सके पानी आपूर्ति सहज हुने नायकले बताउनु भयो ।

खानेपानी योजनाका लागि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारका विभिन्न निकायलाई हारगुहार गरिएको उहाँले बताउनु भयो । प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह मेलौली भ्रमणमा आएका बेला स्थानीयले खानेपानी योजनाको माग गरेका थिए ।
मुख्यमन्त्रीले खानेपानी योजना दिने आश्वासन दिए पनि प्रदेशबाट बजेट नआएको उपभोक्ता भोजराज भट्टले बताउनु भयो । खानेपानीको समस्या समाधान गर्न नगरपालिकासँग प्रयाप्त बजेट नभएकाले संघीय सरकारलाई आग्रह गरिएको हो ।
खानेपानीका लागि आर्थिक वर्ष २०८१ / ० ८२ को बजेटमा २ करोड रुपियाँ बजेट विनियोजित भएको मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्दले बताउनु भयो । उहाँले भन्नु भयो, “संघीय सरकारले २ करोड रुपियाँ विनियोजित गरेको छ । नगरपालिकाबाट मुहानको खोजी भइरहेको छ । बहुवर्षिय ठेक्कामार्फत काम हुने भएकाले पानी आपूर्ति हुन एक / दुई वर्ष लाग्न सक्छ ।” तत्कालका लागि दवानी मुहानबाट पानी लिफ्ट गरेर बजारमा खानेपानी आपूर्तिका लागि पहल भइरहेको उहाँले बताउनु भयो ।