गुल्मी जिल्लको मालिका गाउँपालिका–२, दर्लिङ्ग दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका नागरिकले अहिले पानी परे घर छोड्छन् । ०७२ सालको भूकम्पपछि चर्किएका जमिन वर्षेनी भासिने र खस्ने भएपछि सयौँ घरपरिवार जोखिममा बसिरहेका छन् भने तीन दर्जनभन्दा बढी घरपरिवार अहिले विस्थापित भएर विभिन्न ठाउँमा बसिरहेका छन् ।
कोसिलाबाँझमा करिब ३० घरपरिवार दलित बस्छन् । उनीहरू पहिरोको जोखिममा परेको वर्षौं भइसक्यो । ठूलो पानी आए गाउँका सबैको मुटुमा पहिरोले कति बेला लैजाने हो भनेर पिरलो सुरु हुन्छ । गत तीन दिनको अविरल वर्षाले दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गका ४३ घरपरिवार विस्थापित भएका छन् । पाटाखर्कका १७, धारका १४, उल्लेरका आठ, दुनामका दुई र कोशिलाबाँझका दुई घरपरिवार पहिरोका कारण विस्थापित भएका छन् । अहिले १४ घर च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रको भवनमा आश्रय लिएका छन् । स्थानीय धनबहादुर विकले घर छोडेको तीन दिन भयो । उहाँका पाँच जनाको परिवार च्यानडाँडा सामुदायिक स्वास्थ्य केन्द्रमा बस्दै आउनुभएको छ ।
वर्षातमा तलबाट दुनाम खोलाले तान्ला कि, माथिबाट पहिरोले पुर्ला भन्ने पीरले वर्षौँ बिते । ०७२ सालपछि बर्खा लाग्ने बित्तिकै घरबास छोड्ने अवस्था आएको विकले गुनासो गर्नुभयो । विस्थापित धेरैजस्तो छिमेकीहरूको घरमा बसिरहेका छन् । सोही गाउँका कर्ण पुनको घरगोठ नै पहिरोले बगाएको छ । उहाँका पशुचौपाय समेत मरे । पुनको परिवार छिमेकीको घरमा आश्रय लिएर बस्दै आएको स्थानीय च्यानडाँडा मावि व्यावस्थापन समिति अध्यक्ष रविन्द्र विश्वकर्माले जानकारी दिनुभयो । विस्थापित परिवार मध्ये १३ परिवार दलित छन् । धार र काभ्राबाङ्गमा बस्ती नै बग्ने खतरा हुँदा पनि विपन्नताको कारण अन्यत्र सर्न नसकेको कारण २२/२३ घर गाउँमै बस्दै आएको विश्वकर्माले बताउनु भयो । घरभित्रै मुल फुट्ने, ढिक चर्कने, बारीका काल्नाहरू झर्ने, घरहरू टेडो पर्ने लगायतका समस्या भइरहे पनि बस्ती छोड्न कसैले नसक्ने उहाँले बताउनु भयो । तीन दिनदेखिको वर्षातका कारण दुनाम, पाटाखर्क, बिसौना, उल्लेर, धार र काभ्राबाङ्गमा विद्युत सेवा अवरुद्ध भएको छ ।
च्यानडाँडा माविको पाँच कोठामा पहिरोले क्षति पुर्याउँदा पठनपाठनमा समस्या भएको विद्यालय व्यावस्थापन समिति अध्यक्ष विश्वकर्माले बताउनु भयो । त्यस्तै विश्वकर्माका अनुसार बिचारे पाटाखर्क र भुजेलगाडे च्यानडाँडा खानेपानी आयोजना पहिरोले बगाउँदा १ सयभन्दा बढी परिवारलाई खानेपानीका लागि समस्या भएको छ । अहिले स्थानीय खुल्ला आकाशको पानी पिउन बाध्य भएका छन् । नेपाल प्रहरीको टोलीद्वारा अहिले पूर्णक्षति भएको र पशुचौपाय क्षति भएका परिवारको मुचुल्का गर्ने काम बाहेक राज्यको तर्फबाट अरु केही नभएको विश्वकर्माले बताउनु भयो ।
सरकारले पनि कोशिला बाँझलाई बस्ती स्थानान्तरण गर्नुपर्ने गाउँको सूचिमा राखेको छ । तर, अहिलेसम्म स्थानान्तरणको कुनै पनि प्रक्रिया सुरु नै भएको छैन । पहिरोले पानीका मुहानहरू बगाएको छ । गाउँलेले जहाँत्यहीँको पानी पिउँछन् । सडकको नाम निशान छैन । राज्यका सबै स्रोतसाधन र सेवा सुविधाको पहुँचबाट टाढा रहेका दर्लिङ्गका गाउँका दलित तथा विपन्न परिवार धेरै समस्या र पीडाबीच बाँच्न बाध्य छन् । ‘पहिरोले गाउँ विक्षिप्त भएको हप्तादिन पुग्न थाले । राज्यको अनुभूति केही गर्न सकेनौँ । नेता र सरकार गरिबको हुँदो रहेनछन्’, स्थानीय टिकाराम घर्तिले भन्नुभयो ।







