INSEC Online

📅 २०८३ जेष्ठ २१

दलितको परिवारमा आक्रमण, १० दिनपछि उजुरी दर्ता

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा जातीय विभेदसँगै रातको समयमा घर फोरेर आक्रमण गरेको आरोपमा घटना भएको १० दिनपछि साउन २१ गते उजुरी दर्ता भएको छ ।

साउन १० गते राति ११ बजेको घटना भएपनि २१ गतेमात्र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हो । पीडित पक्षका तर्फबाट पीडित विशाल परियारले साउन २० गते दोस्रो पटक अरुण गुरुङ, आशिष गुरुङ, राजेश गुरुङ, अस्मिता गुरुङ र देवी गुरुङविरुद्ध उजुरी दिनुभएको थियो ।

यसअघि साउन ११ गते ज्यानमार्ने उद्योगमा उजुरी दर्ता नभएपछि कुटपिटसम्बन्धी उजुरी दिएको विशाल परियारले बताउनु भएको छ ।

साउन १० गते राति आक्रमणमा परेकी ३५ वर्षीय सुमित्रा परियारको स्वास्थ्यमा झन् खराबी आएपछि विभिन्न सामाजिक सङ्घसंस्थाहरूको सहयोगमा ज्यान मार्ने उद्योगमा उजुरी दिएको विशालको परिवारले जनाएको छ ।

इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेल र मानव अधिकार आयोग गण्डकीकी प्रमुख नितु गड्तौलाले साउन २० गते मणिपाल शिक्षण अस्पताल पुगेर घटनाबारे पीडितको अवस्थाको बारेमा बुझ्नुभएको थियो ।

वडा प्रहरी कार्यालय बगरको क्षेत्राधिकार भित्र पर्ने उक्त क्षेत्र पहुँचवालाको दबाबमा परेर उजुरी नलिएको आरोप छ । तर, वडाले लिन नमानेको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको १० दिनपछि ‘ज्यान मार्ने उद्योग’ मा दर्ता गरेको विशालले जानकारी दिनु भयो ।

माछापुच्छ्रे गाउँपालिका–८ ल्वाङमा साउन १० गते दिउँसो बाराही आधारभूत माविको खेल मैदानमा भलिबल खेल्दा १९ वर्षीय विशाल परियार (पीडित) र अमृत गौतमबिच सामान्य विवाद भएको थियो । सोही क्रममा अरुण गुरुङले अनावश्यक रुपमा जातीय विभेद गर्दै मार्ने धम्की दिएको विशालको आरोप छ । त्यसदिन गुरुङले दिउँसोको घटनालाई लिएर राति घरमै एक हुल मान्छे लगेर कुटपिट गरेको विशाल परिवारको आरोप छ ।

विशालले उजुरीमा भन्नुभएको छ–‘त्यसदिन खेल खेल्दा अरुण गुरुङले त दमाईको छोरालाई हामी गेमसेम खेल्न दिदैनौँ । नबस् ! भनेर मलाई अपहेलित गरेका थिए । त्यस विषयमा सामान्य विवाद समेत भएको थियो । तर, दिउँसोको कुरालाई लिएर राति १० बजे सुतिरहेको बेला अरुण गुरुङको नेतृत्वमा रड, कोदालो, काठको चिरपट, जस्ता घरेलु हात हतियारसहित झ्याल, ढोका फोरेर ३५ वर्षीया आमा सुमित्रा परियार,१३ वर्षीया बहिनी बत्तीकुमारी परियार र मलाई रक्ताम्य हुनेगरी कुटपिट गरे ।’

घाइते हुनुभएकी विशालकी आमा सुमित्रा करिब १० दिन अस्पताल भर्ना भई उपचार गरेर घर फर्कनुभएको विशालको भनाइ छ । ‘सुरुमा मेट्रोसिटी अस्पताल लगियो । त्यहाँबाट रिफर भएर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइयो । पाँच दिन जति त्यहाँ राखेर उपचार गरेर घर फर्केपछि पनि १९ गते फेरि अस्पताल ल्याउन पर्‍यो । साउन २१ गते मात्र डिस्चार्ज भएको हो ।’–विशालले भन्नु भयो ।

राति घरमा पुगेर कुटपिटमा संलग्न रहेको आरोप लागेका पाँच जनामध्ये दुई जना गिरफ्तारीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले साउन ११ गते आशिष र राजेशलाई गिरफ्तार गरेर अनुसन्थिधान गरिरहेको जनाएको छ । अरुण गुरुङ, अस्मिता गुरुङ र देवी गुरुङ अझै ‘फरार’ रहेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहन थापाले जानकारी दिनु भयो ।

अन्य

भिडियो