आँबुखैरेनी गाउँपालिका–३ मा रहेका मस्र्याङ्गदी बाल ज्योति इङ्लिस बोर्डिङ स्कुल र बाल शिक्षा सदन इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत विद्यार्थीहरूमा डेङ्गुको सङ्क्रमण भएपछि उक्त दुई विद्यालय साउन २३ गतेदेखि बन्द गरिएको छ ।
डेङ्गु सङ्क्रमणका कारण बिरामी हुने विद्यार्थीको सङ्ख्या बढ्दै गइरहेकोले यी दुई ओटा विद्यालय अर्को सूचना नआउँदासम्म बन्द गर्न निर्देशन दिइएको आबुँखैरेनी गाउँपालिकाका शिक्षा अधिकृत निर्मला कुवँरले बताउनु भयो ।
गाउँपालिकाका अन्य विद्यालयहरूले समेत विद्यार्थीहरूको बिरामीको अवस्था अनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्नुहुन र डेङ्गु रोगको रोकथाम तथा नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरिएको कुँवरले बताउनु भयो । उक्त दुई विद्यालयका १ सय भन्दा बढी विद्यार्थीमा डेङ्गु सङ्क्रमणको पुष्टि भएको कुँवरले बताउनु भयो ।
आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले डेङ्गु नियन्त्रणका सम्बन्धमा पूर्व तयारी तथा विशेष सतर्कता अपनाउनु हुन गाउँपालिकाबासीमा अनुरोध गरिएको तथा उपचारमा समस्या भएका तथा बीमा नभएका विद्यार्थीहरूलाई आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको बताउनु भयो ।
स्वास्थ्य कार्यालय तनहुँका अनुसार तनहुँका १० ओटा स्थानीय तहमध्ये सबैभन्दा धेरै आबुँखैरेनीमा डेङ्गु सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीका अनुसार आबुँखैरेनीमा साउन २२ गतेसम्म ४ सय २७ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।