INSEC Online

📅 २०८३ जेष्ठ २१

ज्येष्ठ नागरिक महिलाको हत्या घटनाका आरोपित गिरफ्तार

बाह्रबिसे नपा–७ की ७१ वर्षीया रत्नकुमारी थापाको हत्या गरेको आरोपमा सोही ठाउँस्थित खनियावासका ३६ वर्षीय सञ्जिव देउजालाई साउन २२ गते काठमाडौँस्थित गोङ्गबुबाट प्रहरीले गिरफ्तार गरेको छ ।

आरोपित देउजाले पीडित थापालाई साउन १९ गते राति सुतिरहेको अवस्थामा घाँटी थिचेर हत्या गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले साउन २१ गते आरोपितविरुद्ध इलाका प्रहरी कार्यालय बाह्रबिसेमा उजुरी दिएको छ ।

आरोपित देउजालाई मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरको दफा १७७ र चोरी तथा डाँकासम्बन्धी कसुरको दफा २४४ बमोजिम मुद्दा दर्ता गरी साउन २२ गते जिल्ला अदालतको अनुमतिले अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी निरञ्जन भट्टराईले बताउनु भयो ।

आरोपित देउजाले साउन १९ गते राति महिलाले प्राप्त गरेको १२ हजार रुपियाँ सामाजिक सुरक्षा (बृद्ध) भत्ता सहित ६५ हजार रुपियाँ लुटपाट गरी पीडितको घाँटी थिचेर हत्या गरेको आरोप छ ।

साउन २० गते बिहान अबेलासम्म घरमा एक्लै बसेकी एकल महिला नउठेपछि छिमेकीले खोजतलास गर्दा घरभित्रको भुँइतलामा हात बाँधेको अवस्थामा शव फेलापरेको थियो ।

पीडित महिलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको डिएसपी भट्टराईको भनाई छ । शवको पोष्टमार्टम साउन २० गते काठमाडौँस्थित शिक्षण अस्पतालमा गरी आफन्तले सदगत् गरेका थिए ।

अन्य

भिडियो