INSEC Online

📅 २०८३ जेष्ठ २१

घरबारविहीन मजदुर छिमेकीका जग्गामा त्रिपालमुनि किरिया गर्दै

वीरेन्द्रनगर नपा–९ का ५२ वर्षीय चन्द्र कामीको परिवार विगतदेखि नै अर्काको जग्गामा ज्याला मजदुरी गरेर जीविका चलाउँथे ।

घर व्यवहार चल्न मुस्किल भएपछि यही साउनको पहिलो हप्ता उनीहरू भारत गए । भारत गएको तीन दिनमै चन्द्रकी ४५ वर्षीया पत्नी गोमा कामीको मृत्यू भयो । शव घर ल्याउने रकमसमेत नभएपछि चन्द्रले पत्नीको शवलाई भारतमै सतगत गरे । तर, किरिया गर्न भने उनी नेपाल फर्किए ।

नेपाल फर्किएका चन्द्र ज्याला मजदुर गरिरहेको स्थान वीरेन्द्रनगर आए । यहाँ पनि आफ्नो घर नहुँदा अहिले छिमेकी गवर विश्वकर्माको जग्गामा त्रिपाल हालेर चन्द्रको परिवार किरिया बसिरहेको छ । उनीसँगै २६ वर्षीय छोरा मेघराज कामी र बुहारी त्यही त्रिपालमा बसेर किरिया गरिरहेका छन् । वर्षाको समयमा पानी परिरहेकाले त्रिपालमुनिको किरियामा आफूहरूलाई निकै समस्या परेको चन्द्रले गुनासो गर्नुभयो । बसाइ मात्र होइन, छाक टार्न समस्या भएको उहाँको भनाई छ ।

‘१० दिनअघि ज्याला मजदुरीका लागि हामी दुई जना भारतको चण्डीगढ पुगेका थियौं । त्यहाँ ढुङ्गा बोक्ने काम सुरु गरेका थियौ,’ चन्द्रले भन्नुभयो, ‘दुई दिनमै पत्नीको मृत्यू भयो । शव नेपाल ल्याउने पैसा नभएपछि उतै सदगत गरें । अहिले किरिया अर्काको जग्गामा पाल टाँगेर बसिरहेको छु ।’

पुख्यौली घर जाजरकोट भएका चन्द्रलाई यहाँको ज्याला मजदुरीले छाक टार्न मुस्किल भएपछि भारत पुगेका थिए । तर, सँगै काम गरेर फर्किएकी पत्नीको सुतेकै अवस्थामा मृत्यु भएपछि आफू चिन्तामा रहेको उहाँले बताउनुभयो ।

ज्याला मजदुरी गरेर जीवन गुजारिरहेका चन्द्रका एक छोरा र एक छोरी छन् । किरिया बसेका २६ वर्षीय छोरा मेघराज ट्याक्टर चलाउने काम गर्दा दुर्घटनामा परी खुट्टा भाँचिएकाले गाह्रो काम गर्न सक्दैनन् । छोरी सानै भएकाले अब छोराछोरीको लालनपालन कसरी गर्ने भन्ने चिन्ता थपिएको चन्द्रले बताउनुभयो ।

चन्द्रको परिवारको बास र गासको कुनै टुङ्गो छैन । छिमेकीले दिएको एक÷दुई छाक चामलबाट उनले गुजारा गरेका छन् । छाक टार्ने खाद्यान्नसमेत नहुँदा चन्द्रको परिवारले सहयोगको याचना गरेका छन । सानै उमेरमा बुवाआमा गुमाएका चन्द्रलाई उनकी फुपुले पालनपोषण गरेकी थिइन् ।

आवासको अधिकार नेपालको संविधानमा मौलिक हकको धारा ३७ मा उल्लेख गरिएको र आवासको अधिकार सम्बन्धी ऐन २०७५ मा नेपालको संविधान बमोजिम आवास विहीन नेपाली नागरिकलाई उपर्युक्त र सुरक्षित आवास सुविधा उपलब्ध गराउने भनिएपनि चन्द्र जस्ता मजदुरहरू अहिले पनि आवासविहीन भएका कारण स्थानीय छिमेकीको घरमा किरिया गर्न बाध्य छन् ।
20240805Surkhet (1)

20240805Surkhet (2)

20240805Surkhet (3)

अन्य

भिडियो