कोशी प्रदेशका स्थानीय न्यायिक समितिमा लेनदेनका उजुरी धेरै पर्ने गरेका छन् ।
कोशी प्रदेशका १ सय ३७ ओटा स्थानीय तहका न्यायिक समितिमा अधिकांश उजुरी लेनदेनका हुने गरेका छन् ।
संविधानको अनुसूची ८ मा स्थानीय तहको अधिकारको सूची छ ।
संविधानको धारा ५७ को उपधारा ४, धारा २१४ को उपधारा २, धारा २२१ को उपधारा २ र धारा २२६ को उपधारा १ स्थानीय तहको अधिकार सूचीसँग सम्बन्धित छ ।
सोही बमोजिम स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को व्यवस्था गरिएको छ ।
अनुसूची ८ बमोजिम गाँउ सभा, नगर सभा, जिल्ला सभा, स्थानीय अदालत, मेलमिलाप मध्यस्थताको व्यवस्थापन गर्ने अधिकार संविधानले सुनिश्चत गरेको छ ।
संविधानले स्थानीय तहको अधिकार अन्तर्गत न्यायिक समितिको व्यवस्था गरेको छ । निर्वाचित उपप्रमुखहरू न्यायिक समितिको संयोजक रहने व्यवस्था स्थानीय सरकार सञ्चालन ऐेनले गरेको छ ।
कानुनी तथा न्याय सम्पादनका विषयमा कमैमात्र जानकार भएपनि न्यायिक समिति संयोजकहरूलाई न्याय सम्पादनको महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ ।
नेपालको संविधानको धारा ५६ ले राज्यको संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको हुने व्यवस्था गरेको छ ।
संविधानको धारा ५७ मा राज्यका तीनै ओटै तहको अधिकार बाँडफाँडको पनि व्यवस्था छ । संविधानको धारा १२७ ९२० मा स्थानीय स्तरमा न्यायिक निकाय वा विवाद समाधानका वैकल्पिक उपाय अवलम्बन गर्न आवश्यकता अनुसार अन्य निकाय गठन गर्न सक्ने व्यवस्था गरेको छ ।
संविधानको धारा २१७ अनुरूप न्यायिक समितिको गठन भएर सञ्चालनमा छन् । कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिकाले उपाध्यक्ष र नगरपालिकाले उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्याय समितिको गठन गर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार न्यायिक समितिले आफ्नो काम गरिरहेका छन् ।
ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा सबैभन्दा बढी न्यायिक समितीमा पर्ने मुद्दाहरूमा लेनदेन सम्बन्धी बढी छन् । जिल्लामा कुल १ सय २४ ओटा उजुरीमध्ये ५० प्रतिशत भन्दा बढी अर्थात् ६६ ओेटा मुद्दा लेनदेन सम्बन्धीका छन् ।
फुङलिङ नगरपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्ष ०८०-८१ मा कुल ६४ ओटा मुद्दा दर्ता भएका छन् । उजुरी प्रशासक बबिता लिम्बूले सबैभन्दा बढी ३८ ओटा उजुरी लेनदेनसम्बन्धी, जग्गा र सम्पत्तिको क्षतिका पाँचपाँच ओटा, घरेलु हिंसाका चार ओटा, घरभाडा र मेलमिलापसम्बन्धी तीनतीन ओटा, भुक्तानी सम्बन्धी दुई, ज्याला मजदुरी, रकम हिनामिना, घर निकाला र गाली बेइजती सम्बन्धी एकएक ओटा मुद्दा छन् । ति उजुरीमध्ये ४२ ओटा उजुरी फस्र्यौट भएका छन् । २२ ओटा उजुरी भने फैसला हुन बाँकी छ ।
आठराई त्रिवेणी गाउँपालिकाको न्यायिक समितिमा एक वर्षमा ६ ओटा मुद्दा दर्ता भएका छन् । जसमा दुई ओटा लेनदेन, एउटा खानेपानी, एउटा कुटपिट र दुई ओटा सार्वजनिक क्षतिसम्बन्धीका उजुरी परेकामा चार ओटा मुद्दामा मिलापत्र गराइएकोमा दुई ओटा मिलापत्र गर्न बाँकी छ ।
मैवाखोला गाउँपालिकाका उजुरी प्रशासक देवीप्रसाद आचार्यले न्यायिक समितिमा एक वर्षमा पाँच ओटा उजुरी परेका छन् । जसमा चार ओटा उजुरी लेनदेनका छन् । एउटा काम गरेको ज्याला नदिएको विषयको मुद्दा छन् । कुल मुद्दामध्ये एउटा मुद्दाको फस्र्यौट गरिएको एउटा वडामा मिलापत्रका लागि सिफारिस गरिएको छ भने अन्य तीन ओटा मुद्दा फस्र्यौट गर्न बाँकी छ ।
मेरिङदेन गाउँपालिकाका उजुरी प्रशासक एवम् सूचना अधिकारी जितेन लिम्बूले न्यायिक समितिमा १९ ओटा उजुरी परेका छन् । जसमा सबैभन्दा बढी नौ ओटा उजुरी लेनदेनका छन् । पाँच ओटा अन्यायमा परेको, दुई ओटा कुटपिट र साँध सिमानाका तीन ओटा छन् । उक्त मुद्दामध्ये १३ ओटा फस्र्यौट गरिएको तीन ओटा प्रक्रियामा रहेको र तीन ओटा फस्र्यौैट हुन बाँकी छ ।
पाथीभरा याङवरक गाउँपालिकाका उजुरी प्रशासक इक्साहाङ लिम्बूले एक वर्षको अवधिमा दुई ओटा उजुरी परेको बताउनु भयो । ती दुवै उजुरी लेनदेनको भएको र मिलापत्र गरिएको छ ।
फक्ताङलुङ गाउँपालिकामा उजुरी प्रशासक सन्तोष महतोले एक वर्षको अवधिमा एउटा उजुरी दर्ता भएको र सो मुद्दा मिलापत्र गरिएको छ ।
सिदिङवा गाउँपालिकाका उजुरी प्रशासक प्रियङ्का श्रेष्ठले न्यायिक समितिमा ओटा उजुरी परेका छन् । जसमध्ये लेनदेनका तीन ओटा, गाली बेइजती र कुटपिटका दुई र एउटा जग्गा साँध सिमानासम्बन्धीका उजुरी छन् । उक्त मुद्दामध्ये चार ओटा फस्र्यौट गरिएको छ । गाली बेइजती र कुटपिटका दुई ओटा अदालतमा पठाइएको छ ।
सिरिजङ्गा गाउँपालिकाका उजुरी प्रशासक उज्जवल श्रेष्ठले न्यायिक समितिमा एक वर्षको अवधिमा १२ ओटा उजुरी परेका छन् । जसमध्ये चार ओटा लेनदेन सम्बन्धी, चार ओटा जग्गा सम्बन्धि, पालनपोषण नगरेको, सम्बन्ध बिच्छेद गाली बेइजती र घरेलु हिंसाका उजुरी एकएक ओटा उजुरी छन् । उक्त मुद्दाहरूमध्ये ६ ओटा फस्र्यौट गरिएको, दुई ओटा अदालत जान सुझाव दिइएको, चार ओटा मुद्दा फस्र्यौट हुन छन् ।
मिक्वाखोला गाउँपालिकाका उजुरी प्रशासक बादल लिम्बूले न्यायिक समितिमा नौ ओटा मुद्दा दर्ता भएका छन् । जसमा चार ओटा मुद्दा लेनदेन सम्बन्धी, पालनपोषण नगरेको दुई, कुटपिट, सम्पत्ति हानी नोक्सानी र सिमाना सम्बन्धी एकएक ओटा मुद्दा छन् । जसमध्ये पाँच ओटा मुद्दा फस्र्यौट भएको, दुई ओटा फस्र्यौट हुने प्रक्रियामा रहेको, एउटा अदालत पठाइएको र एउटा फस्र्यौट हुन बाँकी छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार आठराई गाउँपालिकाको न्यायिक समितिले ०८० साउन देखि ०८१ असारसम्ममा २० प्रतिशत उजुरी फछ्यौट गरेको छ । दर्ता भएकामध्ये समितिले दुई ओटा जिल्ला अदालत पठाएको छ । प्रक्रियामा ६ ओटा र दुई ओटामा मिलापत्र गरिएको छ । लेनदेनका पाँच ओटा, कुटपिटका एक ओटा, साँध सिमानासम्बन्धी चार ओटा, उजुरी परेको न्यायिक समिति उजुरी प्रशासक दिलवहादुर कन्दङवाले बताउनु भयो ।
फेदाप गाउँपालिकाको न्यायिक समितिले ०८० साउनदेखि ०८१ असार समान्तसम्म दुई ओटा मात्र उजुरी पेरेको छ । दर्ता भएका दुई ओटै उजुरीमा मिलापत्र गरिएको छ । साँध सिमानासम्बन्धी दुई ओटा मात्र उजुरी परेको न्यायिक समिति उजुरी प्रशासक सुदान लिम्बूले बताउनु भयो ।
मेन्छयायेम गाउँपालिकाको न्यायिक समितिले ०८० साउनदेखि ०८१ असारसम्ममा तीन ओटा उजुरी पेरेको छ । तीन ओटै उजुरीमा मिलापत्र गरिएको छ । साँध सिमानासम्बन्धी दुई ओटा, घरेलु हिंसाको एक ओटा मात्र उजुरी परेको न्यायिक समिति उजुरी प्रशासक नेत्र राईले बताउनु भयो ।
म्याङलुङ नगारपालिकाको न्यायिक समितिले ०८० साउनदेखि ०८१ असार मसान्तसम्ममा सात ओटा उजुरी पेरेको छ । प्रक्रियामा रहेको तीन ओटा, दर्ता भएका चार ओटा उजुरीमा मिलापत्र गरिएको छ । साँध सिमानासम्बन्धी चार ओटा, लेनदेन तीन ओटा उजुरी परेको न्यायिक समिति उजुरी प्रशासक हरी खत्रीले बताउनु भयो ।
लालीगुराँस नगरपालिकाको न्यायिक समितिले ०८० साउनदेखि ०८१ असार मसान्तसम्ममा ६५ प्रतिशत उजुरी फछ्यौट गरेको छ । दर्ता भएकामध्ये समितिले दुई ओटा उजुरी जिल्ला अदालत पठाएको छ । प्रक्रियामा रहेका ११ ओटा, १५ ओटा मिलापत्र गरिएको छ । साँध सिमानासम्बन्धी चार ओटा, लेनदेन १४ ओटा, घरेलु हिंसा ६ ओटा, जालसाजीका चार ओटा उजुरी परेको न्यायिक समिति उजुरी प्रशासक सञ्जय दाहालले बताउनु भयो ।
छथर गाउँपालिकाकाको न्यायिक समितिले ०८० साउनदेखि ०८१ मसान्तसम्ममा तीन ओटा उजुरी परेको छ । तीन ओटा उजुरीमा मिलापत्र गरिएको छ । साँध सिमानासम्बन्धी दुई ओटा, घरेलु हिंसाका एक ओटा उजुरी परेको छथर गाउँपालिका उपाध्यक्ष तारा खरेल ढकालले बताउनु भयो ।
पाँचथर प्रतिनिधि इवारा जवेगुका अनुसार एक नगरपालिका र सात गाउँपालिका गरी आठ ओटा स्थानीय तहमा रहेको न्यायिक समितिमा आर्थिक वर्ष ०८०-८१ मा १ सय १७ ओटा उजुरी दर्ता भएका छन् । सबैभन्दा बढी फिदिम नगरपालिकाको न्यायिक समितिमा उजुरी दर्ता भएका छन् ।
फिदिममा नगरपालिकामा आर्थिक वर्ष ०८०-८१ मा ३४ ओटा उजुरी दर्ता भएको न्यायिक समिति संयोजक राधाकृष्ण न्यौपानेले बताउनु भयो । समितिमा दर्ता भएकामध्ये २८ ओटा फर्छयौट भएका छन् भने ६ ओटा प्रक्रियामा छन् । जसमा लेनदेनसम्बन्धी १६ ओटा, जग्गासम्बन्धी आठ ओटा, घरभाडासम्बन्धी दुई ओटा, रूख ढालेकोसम्बन्धी एक ओटा, ज्याला तलबसम्बन्धी चार ओटा, कुटपिट एक ओटा र अस्पताल बसेको घर खाली÷ सामाग्री निकाल्ने सम्बन्धमा एक ओटा उजुरी दर्ता भएको न्यायिक समिति उजुरी प्रशासक सरस्वती शिवाकोटीले बताउनु भयो । उजुरी प्रशासक शिवाकोटीले न्यायिक समितिको अधिकार क्षेत्रभित्र भन्दा बाहिरका उजुरी नआएको बताउनु भयो ।
कुम्मायक गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०८०-८१ मा १७ ओटा उजुरी दर्ता भएका छन् । समितिमा दर्ता भएकामध्ये नौ ओटा फर्यौट गरिएका छन् । आठ ओटा सम्बन्धित निकायमा पठाइएको छ भने चार ओटा प्रक्रियामा रहेको कुम्मायक गाउँपालिका न्यायिक समिति उजुरी प्रशासक रूमा बोहोराले वताउनु भयो । जसमा लेनदेन नौ ओटा, पतिपत्नी विवादसम्बन्धी तीन ओटा, साँध सिमाना सम्बन्धी एक ओटा, ज्याला मजदुरी नदिएको दुई ओटा, बाली नोक्सानी गरेको एक ओटा र माना चामल सम्बन्धी एक ओटा उजुरी परेको उजुरी प्रकाशक बोहोराले बताउनु भयो ।
तुम्वेवा गाँउपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०८०-८१ मा १२ ओटा उजुरी दर्ता भएका छन् । समितिमा दर्ता भएका १२ ओटा उजुरीमध्ये १० ओटामा मिलापत्र गरिएको न्यायिक समिति उजुरी प्रशासक नन्दलाल गिरीले बताउनु भयो । बाकी दुई ओटा भने अदालत पठाइएको गिरीले बताउनु भयो । जसमा लेनदेनसम्बन्धी ६ ओटा, जग्गासम्बन्धी विवाद एक ओटा, बाली नोक्सानी एक र कुटपिट सम्बन्धी दुई ओटा गरी जम्मा १२ ओटा उजुरी आएको गिरीले बताउनु भयो ।
फाल्गुनन्द गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०८०-८१ मा १६ ओटा उजुरी दर्ता भएका छन् । समितिमा दर्ता भएका १६ ओटामध्ये १० ओटा उजुरीमा फछ्यौट भएको छ । ६ ओटा उजुरी न्याय निरूपणको प्रक्रियामा रहेको गाउँपालिका न्यायिक समितिका उजुरी प्रशासक थमराज न्यौपानेले बताउनु भयो । उजुरी दर्ता भएकामध्ये लेनदेनसम्बन्धी ११ ओटा, गाली वेइज्जतीसम्बन्धी एक ओटा, कुटपीटसम्बन्धी एक ओटा र दाउरा रुखसम्बन्धी विवाद एक ओटा उजुरी परेको उजुरी प्रशासक न्यौपानेले बताउनु भयो ।
याङवरक गाउँपालिकामा आर्थिक वर्ष ०८०-८१ मा १२ ओटा उजुरी दर्ता भएका छन् । याङवरक गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक बाबा मेन्याङबोले १२ ओटा उजुरी दर्ता भएकामा तीन ओटा उजुरीमा मिलापत्र गरिएको बताउनु भयो । उजुरी दर्ता भएकामध्ये सबै लेनदेन सम्बन्धी भएको न्यायिक समिति उजुरी प्रशासक गणेश खतिवडाले जानकारी दिनुभयो । उजुरी परेकामध्ये दुई ओटा मुद्दाको म्याद अवधी नपुगेकोले प्रक्रियामा रहेको र बाकी सात ओटा भने सूचना दिदाँ समेत दोस्रो पक्षको अनुपस्थित भएकाले अदालतमा पठाइएको र फैसला हुन बाँकी रहेको उजुरी प्रशासक खतिवडाको भनाइ छ ।
मिक्लाजुङ गाँउपालिकाको न्यायिक समितिले आर्थिक वर्ष ०८०–८१ मा ५० प्रतिशत उजुरी फछ्यौट गरेको छ । समितिमा दर्ता भएका ६ ओटा उजुरीमध्ये तीन ओटा उजुरी फछ्यौट गरिएको छ । तीन ओटा उजुरी न्याय निरूपणको प्रक्रियामा रहेको न्यायिक समिति उजुरी प्रशासक सन्ता लिम्बूले बताउनु भयो । उजुरी दर्ता भएकामध्ये पतिपत्नीबिचको विवाद एक ओटा, साँधसिमाना सम्बन्धी विवाद एक ओटा , लेनदेनसम्बन्धी एक ओटा, बाली नोक्सानी र गाली बेइजती एक ओटा र रुख विरुवाले घरमाथी असर गरेका सम्बन्धी एक ओटा उजुरी परेको लिम्बूले बताउनु भयो ।
फालेलुङ गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष २०८०-८१ मा ६ ओटा उजुरी दर्ता भएको फालेलुङ गाउँपालिका न्यायिक समिति उजुरी प्रशासक गिरिराज भण्डारीले बताउनु भयो । उजुरी दर्ता भएकामध्ये चार ओटा मिलापत्र भएको र दुई ओटा प्रक्रियामा रहेको छ । जसमा लेनदेनसम्बन्धी दुई ओटा, क्षतिपूर्ति असुल उपर एक ओटा, गालीबेइज्जती एक ओटा, कुटानी पिसानीमिल सम्बन्धमा एक ओटा, सिञ्चाइका लागि परम्परागत कुलो चलाउन नदिएको सम्बन्धी एक ओटा गरी जम्मा ६ ओटा उजुरी दर्ता भएका छन् ।
हिलिहाङ गाउँपालिकाको न्यायिक समितिमा आर्थिक वर्ष ०८०-८१ मा जम्मा १४ ओटा उजुरी दर्ता भएका छन् । दर्ता भएका १२ ओटै उजुरी फ्छर्यौट भएको र बाँकी दुई ओटा भने प्रक्रियामा रहेको उजुरी प्रशासक प्रकाश अधिकारीले बताउनु भयो । जसमा लेनदेन दुई ओटा, जग्गा साधँ सिमाना चार ओटा, चोरी आरोप एक ओटा, कुटपिट सम्बन्धी चार ओटा, गाली बेइजती एक ओटा र वैवाहिक सम्बन्धका दुई ओटा छन् ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिमा गएको आर्थि वर्षमा ७९ ओटा उजुरी दर्ता भएका छन् । एक नगरपालिकासहित सात ओटा गाउँपालिका रहेको जिल्लाका न्यायिक समितिमा आर्थिक वर्ष ०८०-०८१ मा ७९ ओटा उजुरी दर्ता भएका हुन् । न्यायिक समितिमा दर्ता भएकामध्ये ४९ ओटा उजुरीमा न्याय निरूपण गरिएको छ । ३० ओटा उजुरी कारबाहीको प्रक्रियामा छन् । न्यायिक समितिमा आएका मुद्दा मध्ये नौ ओटा अधिकार क्षेत्रभन्दा बाहिरका रहेको जिल्लाका न्यायिक समितिले जनाएका छन् । फछ्यौट हुन नसक्ने ६ ओटा मुद्दा दरपीठ, एक ओटा फिर्ता र दुई ओटा अदालतमा पठाइएको छ ।
चिशंखुगढी गाउँपालिकाको न्यायिक समितिमा गत आर्थिक वर्ष ०८०-०८१ मा एक ओटा उजुरी परेकोमा उक्त मुद्दा फछ्यौट भएको गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक सन्तोषबाबु थापाले बताउनुभयो । सधैं हिहिरहेको बाटो बन्द गरिएको सम्बन्धी उजुरी परेको थापाले बताउनु भयो ।
एक वर्षको अवधिमा मोलुङ गाउँपालिकाको न्यायिक समितिमा पाँच ओटा उजुरी परेका छन् । न्यायिक समितिमा परेका पाँच ओटा मुद्दामध्ये दुई ओटा फछ्यौट भएको र तीन ओटा बाँकी रहेको गाउँपालिकाको न्यायिक समितिका उजुरी प्रशासक राजन ढकालले बताउनु भयो । तीन ओटा मुद्दा पनि मिलापत्रको प्रक्रियामा रहेको ढकालले बताउनु भयो । न्यायिक समितिमा साँध सिमाना खिचलो सम्बन्धी दुई ओटा, ज्याला नपाएको एक ओटा, संस्कार विभेद एक ओटा र धनमाल फिर्ता पाउ भन्ने एक ओटा उजुरी परेको गाउँपालिकाले जनाएको छ ।
सुनकोशी गाउँपालिकाको न्यायिक समितिमा आर्थिक ०८०-०८१ मा आठ ओटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये आठ ओटै फछ्यौट भएको न्यायिक समिति संयोजक सुनिता अधिकारीले बताउनु भयो । परेका मुद्दामा जग्गा मिचेको चार ओटा, लेनदेनको तीन र श्रमिकले भुक्तानी नपाएको एक ओटा रहेको उहाँले बताउनु भयो ।
खिजिदेम्बा गाउँपालिकाको न्यायिक समितिमा एक आर्थिक वर्षमा तीन ओटा मुद्दा परेका छन् । परेका मुद्दामध्ये तीन ओटैको मिलापत्रबाट फछ्यौट भएको गाउँपालिकाको न्यायिक समितिका उजुरी प्रशासक मणिराज तामाङले बताउनु भयो । आएका उजुरीमा गाली बेइज्जति, घर भाडा र अर्काको नाममा रहेको जग्गामा टहरा निर्माण गरिएको सम्बन्धी रहेको उहाँले बताउनु भयो ।
मानेभञ्ज्याङ गाउँपालिकामा एक आर्थिक वर्षमा ४४ ओटा मुद्दा परेका छन् । परेका मुद्दामध्ये २४ ओटा मुद्दा फछ्यौट भएका छन् । १४ ओटा मिलापत्र हुन बाँकी छन् । परेकामुद्दा मध्ये ६ ओटा दरपीठ गरिएको गाउँपालिकाको न्यायिक समितिका उजुरी प्रशासक सुकुधन राईले बताउनु भयो ।
सिद्धिचरण नगरपालिकामा आर्थिक वर्ष ०८०-०८१ मा छ ओटा उजुरी दर्ता भएका छन् । जसमध्ये दुई ओटा मुद्दा फछ«यौट भएका छन् । दुई ओटा फछ्यौट हुन बाँकी छन् । दुई ओटा मुद्दा भने अदालत पठाइएको सिद्धिचरण नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक केदारबाबु बस्नेतले बताउनु भयो । बस्नेतका अनुसार उजुरी आएकामध्ये अधिकांश साँधसिमाना मिचेको छन् ।
चम्पादेवी गाउँपालिकामा आर्थिक वर्ष ०८०-०८१ मा पाँच ओटा उजुरी न्यायिक समितिमा परेका छन् । परेका उजुरीमध्ये चार ओटा फछ्यौट भएको र एक ओटा अधिकार क्षेत्र बाहिरको फिर्ता गरिएको गाउँपालिकाको न्यायिक समितिका उजुरी प्रशासक सन्जित सेन्चुरीले बताउनु भयो । उहाँका अनुसार आएका अधिकांश मुद्दाहरू लेनदेनका रहेका छन् ।
लिखु गाउँपालिमामा एक वर्षमा सात ओटा उजुरी न्यायिक समितिमा दर्ता भएका छन् । उजुरीमध्ये पाँच ओटा मुद्दा फछ्यौट भइसकेका छन् । दुई ओटा मुद्दा फछ्यौट हुन बाँकी छन् । आएका उजरीमा गाली बेइज्जती, पालन पोषण लगायतका रहेको न्यायिक समितिका उजुरी प्रशासक विष्णु रिजालले बताउनु भयो ।