INSEC Online

📅 २०८३ जेष्ठ २१

कैदीबन्दीबिच झडपपछि सात जनालाई अन्य कारागार स्थानान्तरण

कैदीबन्दीबिच कारागारभित्रै झडप भएपछि जिल्ला कारागारले सात जनालाई अन्य कारागार स्थानान्तरण गरेको छ ।

विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीबिच ०८१ साउन १६ गते झडप भएपछि सात जनालाई अन्यत्र सारिएको कारागारका जेलर सोमप्रसाद आर्चायले बताउनु भयो । कारागारभित्र समूह बनाएर झगडा गरेपछि चार जनालाई रौतहट र तीन जनालाई पर्सा कारागार सारिएको कारागार प्रशासनले जनाएको छ ।

लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका कर्मा शेर्पा, ठगी मुद्दाका सन्तोष परियार, रेडपान्डाको छाला ओसारपसार मुद्दाका निश्चल श्रेष्ठ र बाल यौन दुव्र्यवहार मुद्दाका उत्तम भनिने दर्शन राईलाई रौतहट तथा ठगी मुद्दाका थुनुवा प्रेम पुरी, बलात्कार मुद्दाका इन्द्र पौडेल र डाँका मुद्दाका सुवास विश्वकर्मालाई साउन १८ गते साँझ पर्सा कारागार पठाइएको जेलर सोमप्रसाद आचार्यले बताउनु भयो । जेलर आर्चायले भन्नुभयो ‘ साउन १६ गते गलत नियतका साथ कैदीबन्दीहरूबिच समूह बनाएरै झगडा भएको रहेछ । उनीहरू सबैलाई एकैठाउँमा राख्दा ज्यान मर्नेसम्मको खतरा भएको थियो’ त्यसैले झगडामा संलग्नहरूलाई कारागार सारिएको हो । ‘झगडा साम्य पार्न एउटा समूहलाई घटनाका योजनाकारसहित सात जनालाई एक÷एक जना प्रहरीसहित दुई वटा सुमो गाडी रिजर्भ गरेर रौतहट र पर्सा कारागार पठाइएको जेलर आर्चायको भनाइ छ ।

कारागार प्रशासनका अनुसार साउन १६ गते भएको झगडामा ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका रोहिनीबहादुर कार्की घाइते भएका छन् । सुवास विश्वकर्मा र सन्तोष परियारले प्रहार गरेको बेल्चाले लागेर घाइते भएका कार्कीको देब्रे हात भाँचिएको छ । घाइते कार्कीलाई साउन १६ गते जिल्ला अस्पताल दिक्तेलमा भर्ना गरी उपचार गरिएको छ । उपचारपछि डिस्चार्ज भएका कार्कीको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

झगडामा सहभागी सन्तोष र सुवासको टाउकोमा चोट लागेकाले जिल्ला अस्पतालमा उपचार गरिएको छ । कारागारमा खटिएका प्रहरीको सहयोगमा झगडालाई केही छिनमै साम्य पारिएको कारागार प्रशासनले जनाएको छ ।

घटना दोहोरिन सक्ने सम्भावनालाई विचार गर्दै सन्तोष र सुवासलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको थियो । कैदीबन्दीबीचमा झगडा भएको जानकारी पाए लगत्तै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की र जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषोत्तम खड्काले कारागार पुगेर अवस्थाको जानकारी लिनु भएको थियो ।

सन्तोष र सुवासलाई पाँच महिनाअघि झापा र झुम्काबाट खोटाङ कारागार सारिएको थियो । उनीहरू दुवै जना कर्मा शेर्पाको समर्थनमा झगडामा सामेल भएको कारागारका जेलर सोमप्रसाद आचार्यले बताउनु भयो । चौकीदार छनोटमा असन्तुष्टि जनाउँदै कर्मा शेर्पाको समूहले जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजना बनाएपछि झगडा भएको खुलेको जेलर आचार्यको भनाइ छ । कारागारभित्र प्रयोग हुने औजारको सुरक्षा गर्दै आएका नाइके रोहिनीबहादुर कार्कीलाई नियन्त्रणमा लिएर जेलर तथा कर्मचारीमाथि आक्रमण गर्ने योजनामा प्रतिरक्षा गर्दा झगडा भएको कारागार प्रशासनको भनाइ छ ।

कारागार शाखाले केही दिनअघि बलात्कार मुद्दाका कैदीबन्दी देउकुमार राईलाई चौकीदार छनोट गरेको थियो । देउकुमारको ठाउँमा पाँच महिनाअघि मात्र कैलाली कारागारबाट खोटाङ ल्याइएका कर्मा शेर्पाले आफू चौकीदार हुनुपर्ने दाबीसहित समूह बनाएर आक्रमणको प्रयास गरेको कारागार प्रशासनले जनाएको छ । यद्यपि, चौकीदार हुन कारागारभित्रकै कैदीबन्दीले गठन गरेको आन्तरिक समितिबाट सर्वसम्मत सिफारिस भएका कैदीबन्दी हुनुपर्ने कानुनी प्रावधान छ । सोही आन्तरिक समितिले सिफारिस गरेका कैदीबन्दीलाई जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकले चौकीदार छनोट गर्ने प्रचलन रहेको जेलर सोमप्रसाद आचार्यले बताउनु भयो ।

जेलर आचार्यले चौकीदार हुन एक वर्ष सोही कारागारमा बसेको, राजस्व हिनामिना नगरेको तथा सबै कैदीबन्दीको मान्य व्यक्ति हुनु पर्ने मापदण्ड भएको बताउनु भयो । कर्मा शेर्पा पाँच महिनाअघि मात्र कैलालीबाट जिल्ला कारागार ल्याइएकाले छनोट नगरिएको जेलर आचार्यले बताउनु भयो । महिला ३३ जना र पुरूष ६६ जना गरी ९९ जना कैदीबन्दी अटाउने क्षमताका जिल्ला कारागारमा अहिले १ सय ४७ जना कैदीबन्दी छन् ।

अन्य

भिडियो