INSEC Online

📅 २०८३ जेष्ठ २१

बाढी पीडितलाई राहत उपलब्ध नहुँदा याङ्ग्री गाउँका नागरिकको जीवन कष्टकर बन्दै

बाढीबाट प्रभावित भएका पाँचपोखरी थाम्पाल गाउँपालिका—२ स्थित याङ्ग्री गाउँमा राहत उपलब्ध नहुँदा, त्यहाँ रहेका ४७ घर परिवारको जीवन यापनमा समस्या भएको छ ।

गत ०८१ असार ३० गते राती लार्के खोलामा आएको बाढीले त्यस गाउँमा ठूलो क्षति पुर्‍याएको थियो । त्यसभेगमा रहेको वडा नं. १ र २ जोड्ने चिन्दे झोलङ्गेपुल, वडा नं. २ र ४ जोड्ने महांकाल झोलङ्गे पुल बगाएको थियो भने स्थानीय बासिन्दाको हजारौं रोपनी खेतियोग्य जमिन बगाएर नष्ट बनाएको थियो ।

बाढीले मेलम्ची—भोताङ खण्डको सडक बगाएर अवरुद्ध छ भने बाढीले बगाएर बन्द भएको बिजुली हालसम्म निर्माण हुन सकेका छैनन् । खानेपानीको मुहानहरू बाढीले बगाएर लगेपछि खानेपानी सूचारु हुन सकेकाे छैन। स्थानीयलाई खानेचिजहरुकै समस्या हुँदा याँहाका नागरिकहरूको जीवनयापन निकै कष्टकर बन्दै गएको छ ।

मेलम्ची बजारबाट निकै टाढा रहेको याङ्ग्री गाउँमा अहिले खाद्यान्नकै समस्या भएको स्थानीय गोपाल स्याङ्बोले बताउनु भयो । उहाँका अनुसार वल्लो पल्लो गाउँमा जान पुल छैन, बाटो छैन, भएको खाने चिजहरू सकियो, कतैबाट राहत नपाएकोले यस बस्तीमा निकै समस्या भएको छ ।

किनेर खाने ठाउँ छैन, किन्न जाने बाटो छैन हामी निकै समस्यामा परेको स्थानीय सुनबहादुर स्याङ्बोले बताउनुभयो । स्याङ्बोका अनुसार बिरामी पर्दा औषधी किन्ने ठाउँ छैन । बाटोको अभावले अस्पताल हिँडेर जान सकिदैन । पुरै गाउँ नाकाबन्दी जस्तै भएको छ ।

बाढी र पहिरोका कारण गाउँ पुरै नाकाबन्दी जस्तै भएको हुँदा नुन, तेल लगायत खाद्यान्नको समस्या त छँदै छ, बालबालिकाहरू विद्यालय जान पाएका छैनन्, बाढी आउनु भन्दा अगाडी नै आफन्त भेट्न अनेत्र गएका घरका परिवारहरु पुनः घर फर्कन पाएका छैनन् ।

यस्तो समस्या हुँदा पनि अहिलेसम्म कुनै निकायबाट राहत नपाएको र जनजिवन सहज बनाउन कतैबाट पहल नभएको स्थानीय मिठ्ठु तामाङले बताउनुभयो ।

असार ३० गते राती आएको लार्के खोलाको बाढीले यस गाउँपालिकामा ठूलो क्षति गराउनुका साथै वडा नं. २ स्थित याङ्ग्री गाउँमा आवत जावत गर्ने सबै पुल र बाटो बगाएकाले त्यस गाउँमा राहत लैजान समस्या भएको पाँचपोखरी थाम्पाल गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार त्यस गाउँका नागरिकहरूसँग नियमित टेलिफोन सम्पर्क त भइरहेकै छ । गाउँपालिकाले राहत लैजाने विषयमा योजना तयारी गरिरहेको बताउनुभयो ।

अन्य

भिडियो