लहान नपा-६ की १४ वर्षीया एक बालिकाको बालविवाह कात्तिक ६ गते राति इलाका प्रहरी कार्यालय लहानको सक्रियतामा रोकिएको छ ।
भारतको मधुवनी जिल्ला पदमा ग्रामबाट ३ सय जना जन्ती लिएर आएका २९ वर्षीय आशिफ एकवाललाई बालिकासँग विवाह हुन नदिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेशराज सुबेदीले बताए ।
राति ११ बजे स्थानीयबाट बालविवाह हुन लागेको सूचना पाउना साथ आफ्नै नेतृत्वमा गएको टोलीले बालविवाह रोकाएर राति २ बजे नै जन्तीलाई फिर्ता पठाइएको डिएसपी सुबेदीले बताए ।
जन्ती पक्ष र बेहुली पक्षका अभिभावकहरूलाई नेपालको कानुनबारे जानकारी गराएर विवाह नरोके कानुन बमोजिम कारबाही गर्ने भनेपछि सहमतिमा विवाह रोकाइएको सुबेदीले बताए ।
लहान नपाको स्थानीय तहको निर्वाचनमा राप्रपाको तर्फबाट उपमेयर पदको उम्मेदवारसमेत रहेकी समिना खातुन र उनका पति ताहिरले कानुनबारे जानकारी नभएको भन्दै अब छोरी सविलाको उमेर पुगेपछि मात्र विवाह गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।