रोल्पामा पहिरोले घर पुरिँदा चार वर्षीया बालिका सहित दुई जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका–४, स्युरीस्थित चैतेथान टोलमा ०८१ साउन १८ गते राति पहिरोले स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी आमा ७० वर्षीया बासुना सुनार र छोरी चार वर्षीया माया सुनारको मृत्यु भएको प्रहरी चौकी, स्युरीका हवल्दार बेगम नेपालीले जानकारी दिनुभयो । घटनाबारे स्थानीयले प्रहरी चौकी, स्युरीमा राति १० बजेतिर जानकारी गराएका थिए ।
वर्षासँगै आएको पहिरो नरोकिँदा राति उद्धार हुन नसकेको स्थानीयहरूको भनाइ छ । मृतकहरूको साउन १९ गते बिहान मात्र प्रहरी, जनप्रतिनिधि एवम् स्थानीयहरूको सक्रियतामा उद्धार गरिएको छ । देउसिंह भने कामको शिलशिलामा गाउँमा रहेकाले सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी, स्युरीका हवल्दार नेपालीका अनुसार घटनाको बारेमा अनुसन्धान गर्न हिँडेको इलाका प्रहरी कार्यालय, सुलिचौरको प्रहरी टोली भने अविरल वर्षाका कारण बाटो अवरुद्ध भएकाले लुङ्ग्री गाउँपालिकाको गुम्चालमै रोकिएको छ ।
पोष्टमार्टमको लागि शवहरू स्थानीयको सहयोगमा स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल, रोउघा ल्याइँदै गरेको सुनछहरी गाउँपालिकाका–४ का कार्यावहाक वडा अध्यक्ष जगबहादुर विकले बताउनु भयो । आर्थिक अभावका कारण परिवारले शवलाई पोष्टमार्टम गर्न नसक्ने बताए पनि कार्यवहाक वडा अध्यक्ष विकले स्थानीय तथा विभिन्न निकायहरूसँग आर्थिक सहायताको निम्ति पहल गरिरहेको तर कुनै पनि निकायबाट हालसम्म सहयोग प्राप्त नभएको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय, पोवाङ र प्रहरी कार्यालय, गुम्चालको टोली घटना स्थलमा पुगि घटनाको बारेमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी केशबराज बराकोटीले इन्सेकलाई जानकारी दिनुभयो । उहाँका अनुसार अविरल वर्षाका कारण बाटो अवरुद्ध भएकाले उद्धार गर्न ढिलाई भएको छ ।








