गुल्मी जिल्लामा ५५ प्रतिशत नागरिक अझै स्वास्थ्य बिमाको पहुँच बाहिर रहेको पाइएको छ । ०७८ सालको जनजगणना अनुसार जिल्लाको जनसङ्ख्या २ लाख ४६ हजार ८ सय ३६ रहेको हो । स्वास्थ्य बिमा बोर्डका अनुसार अहिलेसम्म १ लाख ११ हजार ५ सय ९९ अर्थात ४५ प्रतिशत नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जसमा ५३ हजार ८ सय ९३ जना पुरुष र ५७ हजार ७ सय ६ जना महिला रहेका छन् ।
बिमा बोर्ड सम्पर्क कार्यालय, गुल्मीका दर्ता अधिकारी सुवास घिमिरेका अनुसार साधरण तथा अर्थात् शुल्क तिरेर ७८ हजार ५ सय ९४ जना नागरिकले स्वास्थ्य बिमा गरेका छन् । जिल्लामा ज्येष्ठ नागरिक १५ हजार ८ सय ४१, एचआइभी सङ्क्रमित ४ सय ६२ जना, ‘क’ वर्गका अपाङ्ग ३ हजार ६ सय ८२, कुष्ठरोगी र जटिल खालको क्षयरोग लागेका २५ जनाले निःशुल्क स्वास्थ्य बिमाको सुविधा लिएको घिमिरेले बताउनु भयो । त्यस्तै ५० प्रतिशत छुटमा ४ हजार ३६ जना महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य बिमा गराएको घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाका १२ स्थानीय तहमध्ये मदाने गाउँपालिकामा सबैभन्दा कम र रेसुङ्गा नगरपालिकामा सबैभन्दा बढी नागरिकले स्वास्थ्य बिमा गरेका छन् । चन्द्रकोट गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरेर आर्थिक अवस्था कमजोर भएका नागरिकको स्वास्थ्य बिमामा ५० प्रतिशत प्रिमियम गाउँपालिकाले व्यहोर्ने निर्णय गरेर कार्यान्वयनमा ल्याएको छ । हालसम्म २ सय ५० परिवार गाउँपालिकाको सुविधाबाट लाभाम्बित भएका छन् । त्यस्तै मदाने गाउँपालिकाले स्थानीय तहका सबै ६७ जना महिला स्वास्थ्य स्वयमसेविकालाई बिमामा सहुलियत गरिदिएको छ ।
त्यस्तै रेसुृङगा नगरपालिका वडा नं. ३ र ४ ले ८३ परिवारको निःशुल्क स्वास्थ्य बिमा गराएको छ । गुल्मी जिल्लाका ६ स्वास्थ्य संस्थामा स्वास्थ्य बिमा कार्यान्वयनमा रहेको छ । नागरिकले जिल्लाभित्र गुल्मी अस्पताल तम्घासहित धुर्कोट, श्रृङ्गा, जोहाङ, रुरु प्राथमिक स्वास्थ्य केन्द्र र नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र, गुल्मीबाट बिमाको सुविधा पाउँछन् ।
यो आर्थिक वर्षबाट नेपाल नेत्र ज्योति सङ्घ जिल्ला आँखा उपचार केन्द्र, गुल्मीले आँखा उपचारलाई स्वास्थ्य बिमासँग जोडेको छ । यसले नागरिकमा थप उत्साह थपेको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डबाट स्वीकृत प्राप्त गरेसँगै केन्द्रले जिल्लामै पहिलो सामुदायिक संस्थाको रूपमा स्वास्थ्य बिमा मार्फत आँखाको उपचार सुरु गरेको छ । बिमितले उपचार बापत २० प्रतिशत सहभुक्तानी गर्नुपर्नेछ । बिमा सुरु भएपछि साउन १२ गते सञ्चालित शिविरबाट ११ जनाले मोतियाबिन्दुको शल्यक्रिया गरेको नेपाल नेत्रज्योति सङ्घका सचिव पदम पाण्डेयले जानकारी दिनुभयो । जिल्लामा दुई दर्ता अधिकारी र ९४ जना दर्ता सहयोगी रहेका छन् ।
जिल्ला कैयौँ विपन्न नागरिक स्वास्थ्य बिमा पहुँचबाट टाढा रहेका छन् । उनीहरूको सचेतना र आर्थिक अवस्थाको कारण बिमामा आबद्ध छैनन् । वर्षेनी उपचारमा हजारौँ खर्च पर्ने परिवारलाई समेत स्वास्थ्य बिमाको बारेमा ज्ञान नहुँदा नोक्सानी भइरहेको छ । मालिका गाउँपालिका–४ का ५६ वर्षीय शेरबहादुर केसी आफैले वर्षमा २० हजारको औषधिले आफैलाई नपुग्ने बताउनुहुन्छ । केसीकै परिवारमा आमा र छोरी पनि नियमित औषधि खाने बिरामी हो । तर, उहाँले अहिलेसम्म स्वास्थ्य बिमा गर्नु भएको छैन । ‘विकटका मान्छे खुरुखुरु अस्पताल आएर फर्किने गर्छु । आजसम्म कसैले गर भनेनन् । गरिबलाई बिमार लागेपछि उभो लाग्न सकिने रहेनछ’, उहाँले भन्नुभयो ।
बिमा बोर्डका शाखाहरूमा जनशक्तिकै अभाव छ । जिल्लाभर दुई दर्ता अधिकारीले कार्यालयकै काम सक्दैनन् । त्यो बाहेक गाउँगाउँमा अभियान चलाउने, बिमा कार्यान्वय भएका स्वास्थ्य संस्थाहरूमा अनुगमन गर्ने लगायतका काम जनशक्तिकै कारण नसकिएको बिमा बोर्ड सम्पर्क कार्यालय, गुल्मीका दर्ता अधिकारी अनिल जिसीले बताउनु भयो । उहाँले गुल्मीमा पनि ३५ सय तिर्न नसक्ने थुप्रै परिवारको लागि सरकारले बिमामा सहयोग गर्नुपर्ने बताउनु भयो ।