सुदूरपश्चिम प्रदेशमा यस तीन महिनाको अवधीमा (सन् २०२४ अप्रिलदेखि सन् २०२४ जुनसम्म) मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट २ सय ९५ जना पीडित भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले सन् २०२४ अप्रिलेलदेखि जुनसम्म भएका मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना समावेश गरी प्रकाशन गरेको मानव अधिकार स्थिति सूचकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
यस अवधीमा राज्यपक्षबाट एक जना पुरुष र अन्यपक्षबाट २ सय ८२ महिला गरी २ सय ९५ जना पीडित भएको इन्सेकले सार्वजनिक गरेको मानव अधिकार स्थिति सूतकमा उल्लेख गरिएको छ ।
यस अवधीमा एक जनाको प्रहरी हिरासतमा मृत्युभएको छ । अन्यपक्षबाट तीन जना महिला सहित सात जनाको हत्या र कुटपिटबाट दुई जना महिला सहित सात जना घाइते भएका छन । गैरराज्य पक्षबाट २ सय ६५ जना महिलाको अधिकार हनन् गरिएको उल्लेख गरिएको छ । जसमध्ये घरेलु हिंसाबाट २ सय ४२ जना, बलात्कारबाट १६ जना, वहुविवाहबाट सात जना गरी २ सय ६५ जना महिला पीडित भएका छन् ।
यसैगरी अन्यपक्षबाट १४ जना बालिका पीडित भएको उल्लेख छ । जसमध्ये बलात्कारबाट १२ जना र यौन दुव्र्यवहारबाट दुई जना गरी १४ जना बालिका पीडित भएका छन् । जातीय छुवाछुटबाट एक जना पुरुष पीडित भएको इन्सेकले सार्वजनिक गरेको मानव अधिकार स्थिति सूचकमा उल्लेख गरिएको छ ।
यस तीन महिनाको मानव अधिकार उल्लङ्घनको विश्लेषण गर्दा राज्य पक्षबाट मानव अधिकारको उल्लङ्घन न्युन भए पनि गैरराज्य पक्षबाट ज्यादतीका घटनामा बृद्धी भएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले बताउनु भयो ।
नागरिक तथा राजनीतिक अधिकारका क्षेत्रमा सुधार भए पनि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका क्षेत्रमा सुधार हुन नसकेकाले राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुनहरुको पूर्ण कार्यान्वयन गरी नागरिकका अधिकारहरुको सुनिश्चित गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।