दमौली अस्पतालको स्तरोन्नती आवश्यक जग्गाको अभावमा रोकिएको छ । उक्त अस्पताललाई ५० शैयाको बनाउन आवश्यक पर्ने ३५ रोपनी जग्गा व्यवस्थापन नहुँदा अस्पतालको स्तरोन्नती नभएको गन्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुकुमार थापाले बताउनुभयो ।
दमौली अस्पतालको स्तरोन्नती बारे ०८१ साउन १३ गते दमौलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री थापाले अस्पतालको स्तरोन्नती तथा आवश्यक पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ती महत्वपूर्ण रहेको बताउनुभयो । दमौली अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न धेरै पटक पहल भइरहेको भन्दै मन्त्री थापाले मन्त्रिपरिषद र संसदको बैठकमा पनि धेरै पटक कुरा उठेको बताउनुभयो । तर आवश्यक जग्गा नहुँदासम्म केही गर्न नसकिने उहाँको भनाइ छ ।

दमौली अस्पताल १५ शैयाको भएपनि ५० शैयाको भन्दा पनि राम्रो सेवा दिइरहेको भन्दै मन्त्री थापाले अहिले भइरहेकै संरचनालाई व्यवस्थापन गरेर धेरै भन्दा धेरै सेवा दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा.विनोद बिन्दु शर्माले दमौली अस्पतालको स्तरोन्नतिको लागि प्रदेश सरकार गम्भीर रहेको भन्दै अस्पताललाई ५० शैया बनाउने बारेमा प्रदेशले प्रस्ताव मात्रै गर्ने तर निर्णय भने सङ्घीय मन्त्री परिषद्ले गर्ने जानकारी दिनुभयो । गन्डकी प्रदेश सरकारले प्रदेश भित्रका ६ ओटा अस्पताललाई ५० शैया बनाउने निर्णय गरिसकेको भन्दै सचिव शर्माले तर दमौली अस्पतालमा जग्गाको समस्या रहेको बताउनु भयो । मुख्य समस्या जग्गाको नै हो भन्दै उनले स्थानीय स्तरबाट जग्गाको व्यवस्थापन गर्न सके दमौली अस्पताललाई ५० शैया बनाउन सकिने बताउनुभयो ।
गन्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विकले यस अघि आफू मन्त्री हुँदा पनि अस्पतालको स्तरोन्नतीको लागि धेरै पहल गरेपनि सफल नभएको बताउनुभयो । दमौली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले हालको एसपी क्वाटरलाई अन्यत्र व्यवस्थापन गर्ने तथा कृषि ज्ञान केन्द्र र भेटेनेरी अस्पतालको पछाडी तर्फको जग्गालाई व्यवस्थापन गर्न सके दमौली अस्पताललाई ५० शैयाको बनाउन सकिने बताउनुभयो । यसको लागि सबैको सकारात्मक पहल हुनु पर्ने उहाँको भनाई थियो ।
दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले आवश्यक पूर्वाधारको अभावमा दमौली अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेको बताउनु भयो । ५० शैया स्विकृत नहुँदा त्यसैअनुसारको दरबन्दी, जनशक्ति र उपकरण नहुँदा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसकिएको डा. बरालले बताउनु भयो ।
पर्याप्त जनशक्ति र उपकरण नहुँदा पनि दमौली अस्पतालले गत आर्थिक वर्षमा ९८ हजार ३ सय ५६ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् । गन्डकी प्रदेशका जिल्ला अस्पतालहरु मध्ये १ सय शैयाको बाग्लुङको धौलागिरी अस्पतालपछि दमौली अस्पतालमा सबैभन्दा धेरै सेवाग्राहीले सेवा लिएका हुन् ।
२०२८ सालमा स्थापना भएको सो अस्पताल २०५० प्राथमिक स्वास्थ्य केन्द्रको रुपमा सेवा सन्चालन गरिएको थियो । त्यस्तै २०५९ बाट १५ शैया अनुमति प्राप्त गरी सञ्चालन गरिएकोमा हाल ३५ शैया आफै थप गरेर ५० शैया चलाएको डा. बरालले जानकारी दिनुभयो ।
सो कार्यक्रममा सहभागीहरुले दमौली अस्पताललाई स्तरोन्नती गर्न ढिलाई भइरहँदा दमौलीको स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास घट्दै गइरहेको बताएका थिए ।