जनआस्था साप्ताहिकका प्रधान सम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठनले भौतिक कारबाहीको धम्की दिएको नेपाल पत्रकार महासंघले जनाएको छ ।
नेपाल पत्रकार महासंघका अनुसार ०८१ साउन ८ गते बिहान सङ्गठनको सचिवालय सचिव बताउने कपिल सीले मोबाइलबाट फोन गरी अश्लील गालीगलौज गर्दै भौतिक कारबाहीको धम्की दिएको हो ।
सीले मोबाइलबाट फोन गरी प्रधान सम्पादक श्रेष्ठलाई धम्कीपूर्ण शैलीमा गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको श्रेष्ठले महासंघलाई जानकारी गराउनु भएको छ । धम्कीका क्रममा सीले ‘प्रधान सम्पादक श्रेष्ठ र उहाँकी पत्नीलाई जहाँ भेटे त्यही मारिदिने’ बम हानेर घर उडाइदिने’ जस्ता धम्की दिएको महासङ्घको भनाइ छ ।
‘सोही दिन दिउँसो सानेपाको धोबिघाटस्थित पत्रिकाको कार्यालयमा हतियारसहित आएका एक व्यक्ति प्रवेश गरेर धम्कीपूर्ण भाषा प्रयोग गरी कार्यालयका रहेका सबै कर्मचारीलाई धम्क्याएर ‘एक घण्टाभित्र हाजिर हुन आउने, नआए बम हानेर कार्यालय उडाइदिने’ भनेर धम्क्याउँदै पत्रिका प्रकाशन कार्यमा समेत अवरोध गरेको जानकारी प्राप्त भएको छ,’ महासंघको विज्ञप्तिमा भनिएको छ ।
समाचारसँग सम्बन्धित विषयमा चित्त नबुझेका कुरा भए वार्ता र सम्वादका माध्यम वा कानुनी उपचारको बाटो अवलम्बन गर्नुपर्नेमा त्यसो नगरी यस किसिमको आपराधिक तवरले भौतिक कारबाहीको धम्की दिने, बम हानिदिने र गालीगलौज गर्ने जस्ता हर्कत हुनु समग्र पत्रकारिता क्षेत्रमाथिकै प्रहार भएको महासंघको विज्ञप्तीमा उल्लेख छ ।
‘पत्रकारलाई आतङ्कित, त्रसित र हतोत्साहित बनाउने यो कार्यमा संलग्नको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याएर पत्रकारको सुरक्षामा विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दै महासंघ संविधानले सुनिश्चित गरेको पत्रकार अधिकारको सम्मान गरी यस किसिमका गतिविधि नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले घटना बारे लिखित उजुरी नआएको बताउनु भयो । यस बारे जानकारी माग्दा जनआस्था साप्ताहिकका प्रधानसम्पादक एवम् प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा उजुरी दिएको बताउनु भयो ।