INSEC Online

📅 २०८३ जेष्ठ २१

कारागारमा भाइरल सङ्क्रमित कैदीबन्दीलाई छुट्टै राख्ने ठाउँ नहुँदा समस्या

बर्दिया जिल्ला कारागारमा भाइरल सङ्क्रमित कैदीबन्दीलाई छुट्टै राखी उपचार गर्ने ठाउँ नहुँदा अन्य स्वस्थ बन्दीहरूमा भाइरल ज्वरोको सङ्क्रमण फैलिने क्रम बढेको छ । भाइरल ज्वरोको सङ्क्रमणले कारागारमा ४० जना कैदीबन्दी बिरामी भएका छन् ।

साउन २९ गतेदेखि फैलिएको भाइरल सङ्क्रमण बढ्दै गएपछि कारागारभित्र कैदी बिरामी बढ्दै गएका छन् । जिल्ला कारागारभित्र भाइरल सङ्क्रमणका कैदीबन्दी बिरामी बढेपछि जिल्ला स्वास्थ्य कार्यालय गुलरियाबाट स्वास्थ्यकर्मी बोलाएर उपचार गराइरहेको कारागारका जेलर रोहित श्रेष्ठले जानकारी दिए । कारागारभित्र सङ्क्रमित र स्वस्थ कैदीलाई छुट्टाछुट्टै राख्ने ठाउँ नभएकाले सबैलाई एकै ठाउँमा राख्नु पर्ने बाध्यता रहेको जेलर श्रेष्ठले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले जिल्ला कारागार गुलरियामा फैलिएको भाइरल ज्वरो रोकथामको लागि विशेष व्यवस्था नगरिए पनि जिल्ला अस्पतालका डाक्टर सहितको स्वास्थ्यकर्मीमार्फत उपचार र स्वास्थ्य परीक्षणको व्यवस्था मिलाएको बताए ।

एक सय २५ जनाको क्षमता रहेको बर्दिया कारागारमा हाल २ सय ५७ जना कैदीबन्दी रहेका छन् । क्षमता भन्दा करिब तेब्बर कैदीबन्दी रहेकाले भाइरलको सङ्क्रमण न्यूनीकरणका लागि कठिनाइ भएको कारागार प्रशासनले जनाएको छ ।

कारागारका कैदीबन्दीमा भाइरल ज्वरो फैलिएपछि कारागार प्रशासनबाट उपचार व्यवस्था राम्रो भइरहेको कैदी तथा मेडिकल नायक नरेन्द्रकुमार यादवले बताए ।

अन्य

भिडियो