ऐरावती गाउँपालिकको-२ मा रहेको पुरनण्ठाँटी स्वास्थ्य चौकीमा एक्सरे मेसिन बिग्रीएको दुई महिना बित्दासम्म मर्मत नहुँदा बिरामीहरूलाई सास्ती भएको छ ।
लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको एक्सरे मेनिस ०८१ वैशाख महिनादेखि बिग्रीएकाले पुरनण्ठाँटी स्वास्थ्य संस्थामा सेवा लिइरहेका बिरामीहरूलाई जिल्ला अस्पताल बिजुवार जान बाध्य भएको स्वास्थ्य चौकीका अहेव महेन्द्र रावतले बताउनु भयो ।
नागरिकले नजिकमा रहेको पुरनण्ठाँटी स्वास्थ्य चौकीबाट सेवा पाउँदै आएकोमा बिग्रीएको एक्सरे मेसिन लामो समयसम्म पनि मर्मत नहुँदा बिरामीहरू जिल्ला अस्पतालमा महङ्गो शुल्क खर्च गरी उपचार गर्न बाध्य भएको ऐरावती गाउँपालिका-२ की ५० वर्षीया कमला पोखरेलले बताउनु भयो । स्वास्थ्य चौकीको एक्सरे मेसिन बिग्रीएपछि मर्मत गरिएको छैन । स्वास्थ्य चौकीको दुई महिनादेखि बिग्रिएको स्थानीय पोखरेलले बताउनु भयो ।
स्वास्थ्य चौकीमा रहेको एक्सरे मेसिन बिग्रीएको जानकारी पाउने बित्तिकै मर्मतका लागि आफूले प्रयास थाले पनि मर्मत गर्ने प्राविधिक नभएको र प्रदेशबाट प्राविधिक ल्याइ चेक जाँच गर्ने अन्तिम तयारी भएको ऐरावती गाउँपालिकका स्वास्थ्य शाखा प्रमुख बालगोपाल श्रेष्ठले जानकारी दिनुभयो । यदि सो मेसिन मर्मत गरी सञ्चालन हुन नसकेमा नयाँ मेसिन ल्याएर सेवा प्रदान गर्ने गाउँपालिको योजना रहेको उहाँले बताउनु भयो ।