वर्षात् सुरु भएको एक महिनाको अवधिमा म्याग्दीमा बाढी पहिरोका कारण दुई जनाको मृत्यु भएको छ भने १ सय ३ जना विस्थापित भएका छन् । पश्चिम म्याग्दी जोड्ने बेनी–दरवाङ सडक पछिल्लो एक हप्तादेखि बन्द हुँदा पश्चिम म्याग्दी हुँदै बागलुङ तथा रुकुम जाने यात्रुहरूलाई सास्ती भएको छ ।
बाढी पहिरोले गर्दा सबैभन्दा धेरै रघुगङ्गा गाउँपालिकामा ४७ जना विस्थापित भएका छन् । अन्नपूर्ण गाउँपालिकामा ४४ जना, मङ्गला गाउँपालिकामा नौ जना र बेनी नगरपालिकामा तीन जना गरी १ सय ३ जना विस्थापित भएका हुन् । बेनी नगरपालिकामा घर जोखिम भएका कारण एक घरका तीन जना विस्थापित भएका छन् । त्यस्तै मङ्गला गाउँपालिकामा एक घर र एक गोठ पूर्ण रूपमा क्षती हुनुका साथै तीन घर अति जोखिममा रहेकाले तीन घरका नौ जना विस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी राजन रायमाझीले बताउनु भयो ।
रघुगङ्गा गाउँपालिकामा तीन घर, दुई गोठ, एक खोर, एक स्कुल भवन र एक सामुदायिक भवन पूर्ण रूपमा क्षति भएको छ । आठ घर र एक प्रहरी बिट अति जोखिम रहेकाले ४७ जना विस्थापित भएका छन् । त्यस्तै अन्नपूर्ण गाउँपालिकामा एक घर पूर्ण र एक घरमा आंशिक क्षति हुनुका साथै १२ घर जोखिममा पर्दा ४४ जना विस्थापित हुन पुगेका छन् ।