INSEC Online

📅 २०८३ जेष्ठ २१

कोशी प्रदेशमा मनसुनजन्य विपद्का घटनामा २४ जना बढीको मृत्यु, सयौँ परिवार विस्थापित

कोशी प्रदेशमा मनसुन सक्रिय भएको एक महिनाको अवधिमा बाढीपहिरो र प्राकृतिक विपद्का घटनामा २४ जनाले ज्यान गुमाउनु परेको छ । बाढीपहिरोका कारण २ सय २५ परिवार विस्थापित हुनु परेको छ । गएका वर्षहरूमा जुन १३ मा सक्रिय हुने मनसुन यस वर्ष जुन १० अर्थात् २०८१ जेठ २८ गतेदेखि सक्रिय भएको थियो ।

कोशी प्रदेशका मोरङ, ताप्लेजुङ, झापा, सङ्खुवासभा, इलाम, सुनसरी, ओखलढुङ्गा, पाँचथर र ताप्लेजुङमा मनसुनपछिको बाढी र पहिरोका कारण प्रभावित भएका छन् । कोशी प्रदेशमा मनसुनजन्य विपद्बाट जनधनको क्षति बढी भएको छ । विपद्को कहरले जनजीवन नराम्रोसँग प्रभावित भइरहेको छ ।

मनसुन सक्रिय भएपछिको अविरल वर्षासँगै पहाडमा बाढीपहिरो तथा तराईमा बाढी, डुबान र कटानको समस्याका कारण २४ जनाले ज्यान गुमाएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । १७ जनाभन्दा बढी घाइते र दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ । १ सयभन्दा बढी पशु चौपाया मरेको र आर्थिक हिसाबले करिब १० करोड बराबरको क्षति भएको प्रहरीको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी सुमनकुमार तिमल्सिनाले बताउनु भयो ।

मोरङमा ६, ताप्लेजुङमा पाँच, झापा र सङ्खुवासभामा चार र चार, इलाम र सुनसरीमा दुई र दुई, र ओखलढुङ्गामा एक जनाको मृत्यु भएको छ । बाढी, पहिरो तथा डुबानका कारण २ सय २५ परिवारका ७ सय ३८ जना विस्थापित भएको प्रहरीको तथ्याङ्क छ । बाढीपहिरोका कारण ताप्लेजुङमा ७५, मोरङमा ६८, सङ्खुवासभामा ५५ र झापामा २७ परिवार विस्थापित हुनु परेको छ ।

विस्थापित भएकालाई उद्दार गरेर सुरक्षित स्थान विद्यालय, सामुदायिक भवनलगायतमा अस्थायी बासस्थानको व्यवस्थापन गरिएको छ । प्रहरीका अनुसार बाढी र पहिरोका कारण ३३ ओटा घरमा पूर्ण र ४२ ओटा घरमा आंशिक क्षति पुगेको छ ।

कोशीमा बाढीपहिरो तथा डुबानका घटनामा २२ हजार घर प्रत्यक्ष प्रभावित हुने तथा ५ हजार परिवारलाई राहत र उद्दारको व्यवस्था गर्नुपर्ने आँकलन गरिएको छ । मनसुनजन्य प्रकोपको विश्लेषण गर्दै क्षति न्यूनीकरण गर्न प्रदेश सरकारले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना पास गरेर कार्यान्वयनमा लगिसकेको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले बताउनु भयो ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा ०८१ जेठ ३० गतेदेखिको वर्षाका कारण पाँच जनाको ज्यान गएको छ । मनसुन सक्रिय भएसँगै वर्षापछि आएको पहिरोले पुरिएर ०८१ जेठ ३० गते सिरिजङ्घा गाउँपालिका-७ खेबाङमा निर्माणाधीन काबेली तेस्रो जलविद्युत परियोजनामा कार्यरत एक मजदूर (ट्रयाक्टर चालक) को मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका-१४ लुङपा स्थायी घर भइ कावेलीमा कार्यरत मजदुर २५ वर्षीय सविन राईको खेबाङको सिरिसे खोल्सामा सामान बोकेर जाँदै गरेको मे १ त ७९६९ नम्बरको ट्रयाक्टर सडक माथिबाट झरेको पहिरोले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ । बाढी र पहिरोका कारण जेठ ३२ गते फक्ताङलुङ गाउँपालिका-२ खेजेनिमका एकै परिवारका चार जनाको मृत्यु भएको छ । फक्ताङलुङ  गाउँपालिका उपाध्यक्ष विकास साम्रा लिम्बु (रविन) का ७० वर्षीय बाबु रामबहादुर साम्रा लिम्बू, कान्छी आमा ५० वर्षीया जसमाया लिम्बू र १० वर्षीया जुम्ल्याहा बहिनीहरु गङ्गा र जमुनाको घर भन्दा माथिबाट आएको पहिरोले घर बगाउँदा घटनास्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि रावलले बताउनु भयो । फक्ताङलुङ गाउँपालिकाको तमोर नदीसहितका खोलामा लगाइएको पाँच ओटा अस्थायी पुल बाढीपहिरोले बगाएपछि  फक्ताङलुङ गाउँपालिकामा जेठ ३२ यता यातायात सेवा बन्द भएको छ । बाढीपहिरोले पुल बगाएपछि एम्बुलेन्ससहित यातायातका साधन चल्न नसक्दा सबैभन्दा बढी बिरामीलाई समस्या भएको छ । पुल वारीका वारी नै र  पारीको पारी नै रहेपनि विचमा पहिरोमा हिडेर सदरमुकाम सम्म आवतजावत व्यवस्था मिलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनु भयो । वर्षाका कारण तमोर नदीको छिरूवा र तापेथोक, सिँसावा खोला र सिस्ने खोलाको विभिन्न पाँच ठाउँमा रहेको काठेपुल बाढीले बगाएपछि यातायात सेवा अवरुद्ध छ । तापेथोकस्थित सिँसावा खोला तथा फुङ्लिङ नगरपालिका-१० फुरुम्बु र फक्ताङ्लुङ गाउँपालिका-३ लिङ्खिमको सिमाना भइ बग्ने सिस्ने खोलामा रहेको दुई ओटा काठेपुल बाढीले बगाएको छ । बाढीले पुल बगाएपछि गाउँपालिकामा खाद्यान्न, औषधीलगायतका सामग्रीको अभाव हुन नदिन बोकेर लाने व्यवस्था मिलाईएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनु भयो  । जिल्ला प्रशासन कार्यालयको ०८१ असार ३१ गतेसम्मको तथ्याङ्क अनुसार  जिल्लामा बाढी पहिरोमा परी तीन जना महिला र दुई जना पुरूष गरी पाँच जनाको मृत्यु भएको छ । एक जना महिला र दुई जना पुरूष गरेर तीन जना घाइते भएमा उपचारपछि घर फर्किएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । बाढीपहिरोका कारण जिल्लामा २६ घरमा पूर्ण क्षति भएको छ भने दुई ओटा मोटरेवल काठको पुल,  एउटा झोलुङ्गे पुल, एउटा ट्रस्ट पुल र एउटा सिमेन्टको पुलमा पूर्ण क्षति हुँदा एउटा बाख्रा फार्ममा पूर्ण क्षति भएको छ । बाढीपहिराको कारण १ सय १७ पशुचौपाय र ५७ पन्छी मारिएका छन् । जिल्लाका विभिन्न गाउँपालिकाका ४९ घर पहिरोको उच्च जोखिम र ८२ घर जोखिममा, एक सङ्ग्रहालय, एक माइक्रो हाईड्रो र एउटा क्रसर उद्योग जोखिममा परेका छन् ।  जिल्लाभित्रका ६१ ओटा वडामध्ये ४१ ओटा वडाहरू पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ  । समितिले बुलेटिन निकालेर नै उच्च जोखिम, मध्यम जोखिम र न्यून जोखिम वडाहरुको संख्या प्रकाशन गरेको छ । जस अनुसार जिल्लाका नौ स्थानीय तहका ६१ ओटा वडामध्ये ४१ ओटा वडा पहिरोको उच्च जोखिममा र १८ ओटा वडा जोखिममा रहेका छन् । फुङलिङ नगरपालिकाको-२ र ५ गरी दुई ओटा वडा पहिरोको न्यून जोखिममा रहेको आँकलन गरिएको छ  । सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा २०८० असार २ गते आएको पहिरोले मेहेले स्वास्थ्य चौकी बगाएको थियो भने हालसम्म बन्न नसक्दा वडा कार्यालयबाट सेवा दिनु पर्ने अवस्थाले सेवा प्रवाहमा र सेवाग्राहीमा समस्या रहेको स्थानीयले बताएका छन् ।

photo 20240715 Taplejung (1)

photo 20240715 Taplejung (2)

photo 20240715 Taplejung (3)

photo 20240715 Taplejung (4)

photo 20240715 Taplejung (5)

photo 20240715 Taplejung (6)

photo 20240715 Taplejung (7)

photo 20240715 Taplejung (8)

photo 20240715 Taplejung (9)

photo 20240715 Taplejung (10) photo 20240715 Taplejung (11)

photo 20240715 Taplejung (12)

photo 20240715 Taplejung (13)

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा मनसुनी वर्षा सुरूआत भएयता बढीपहिरोका कारण ४३ घर परिवार विस्थापित भएका छन् । मनसुनको एक महिनाको अवधिमा जिल्लामा बाढीपहिरोका कारण ४३ घर विस्थापित भएको प्रमुख जिल्ला अधिकारी धु्रवबहादुर खड्काले बताउनु भयो । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु र ६ जना घाइते भएका छन् । प्रमुख जिल्ला अधिकारी खड्काले मनसुनी वर्षाको एक महिनाको अवधिमा बढीपहिरोका कारण जिल्लाका विभिन्न स्थानमा ४३ घर परिवार विस्थापित र २० घर गोठ भत्किएका छन् । बाढीपहिरोबाट एक महिनाको अवधिमा ६ ओटा मोटरेवल  पुलमा समेत क्षति पुगेको प्रजिअ खड्काले बताउनु भयो । बाढीपहिरोबाट विस्थापितहरू आफन्त तथा छिमेकीकामा आश्रय लिएर बसेका छन् । पहिरोले अधिकांश उत्तर दक्षिण कोशी राजमार्ग अन्तरगतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत आयोजनामा क्षति पुगेको छ । अवरुद्ध सडक स्थानीय तहले खुलाउने प्रयास गरिरहेका जनाएका छन् । बाढी पहिरोका कारण मकालु गाउँपालिका -२ सागसेवा र मुलगाउँमा मात्रै २४ घर परिवार विस्थापित भएका छन् । बाढी पहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मूहान र विद्युत पोलमा क्षति पुगेको छ । ०८१ जेठ २१ गते बर्षासँगै आएको बाढी पहिरोले भोटखोला -४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई वटा गाडी समेत पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले भोटखोला -४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी,स्वास्थ्य उपकरण क्षति हुँदा लाखौँ रुपियाँ क्षति भएको छ । त्यस्तैगरी पहिरोले भोटखोला-४ मा  निर्माणाधीन पाँच शैयाको अस्पताल पुरिएको छ । वर्षाले भोटखोला गाउँपालिकासँग सम्र्पक विच्छेद भएको छ । बाढीले उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का सडकमा पर्ने मकालु गाउँपलिका-३ मा रहेको एकुवा खोलामा रहेको मोटरेबल पुलको भग्नावशेष समेत लगेको छ । बाढी पहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनु भयो । बाढी पहिरोका कारण करिव ४० करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लामा तीन ओटै सुरक्षा निकायहरूमा खोज तथा उद्दारका लागि २९ जना विपद् ब्यवस्थापन तालिम प्राप्त जनशक्ति तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा मनसुनजन्य विपद्बाट एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।  ०८१ जेठ २८ गतेदेखिको वर्षासँगैको पहिरोबाट एक जना महिलाको मृत्यु भएको हो । घाइते भएका चार जनाको उद्दार गरिएको र अहिले अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मनिष लुईटेलले बताउनु भयो । पहिरोका कारण जिल्लाका दुई ओटा विद्यालयमा क्षति पुगेको छ । पहिरोले सुनकोशी गाउँपालिका-५ डाडाँखर्कस्थित चौतारा माध्यमिक विद्यालयमा क्षति पुर्‍याएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीर्घबहादुर खत्रीले बताउनु भयो । पहिरोले मानेभञ्याङ गाउँपालिका-४ विद्याकालिका माध्यमिक विद्यालय समेतमा क्षति पुर्‍याएको छ । बाढीपहिरोबाट प्रभावितहरूको उद्दार गर्ने, जोखिममा भएकाहरूलाई समयमा स्थानान्तरण गर्ने र सडकमा अवरोध हटाउने लगायतको कार्य भइरहेको प्रहरीले जनाएको छ ।

photo 20240711 Okhaldhunga (1)

photo 20240711 Okhaldhunga (2)

अन्य

भिडियो