INSEC Online

📅 २०८३ जेष्ठ २१

अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयलाई समस्या

सुनछहरी गाउँपालिका-३, झारवाङका दलित बस्तीमा अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयलाई समस्या भएको छ । करिब २६ घर परिवार भएको झारवाङको दलित बस्तीमा अधिकांश स्थानीयहरू वर्षातले बाढी र पहिरो आउने त्रासले रातभर जाग्राम बस्छन् ।

जिल्लाकै विकट मानिने सुनछहरी गाउँपालिका-३, झारवाङमा रहेको यस बस्ती पहिरोको जोखिममा रहेको हो । बाढी पहिरोको डरले स्थानीयहरू रातको समयमा गोठमा बस्न परेको त्यहाँका स्थानीयहरूले बताएका छन् । स्थानीय सरकारले रोकथामको लागि पहल गरेको भए तापनि त्यसले पूर्णरूपमा रोकथाम गर्न नसक्ने स्थानीयबासीको भनाइ छ ।

जमिन कमजोर बनेका कारण बस्ती नै पहिरोको जोखिममा परेको र आफूहरूलाई सास्ती भएको स्थानीय २५ वर्षीय दिपक विकले बताउनु भयो । स्थानीयहरूको दिउँसोको समय खेतबारीमा काम गर्दै बिते पनि साँझको समयमा आफन्तको घरमा गएर बस्नु पर्ने बाध्यता रहेको उहाँले उल्लेख गर्नुभयो ।

अविरल वर्षाका कारण बस्तीका २६ घर पहिरोको जोखिममा परेका हुन् । जसमध्ये ६ घर पहिरोको उच्च जोखिममा रहेको स्थानीय विकले जानकारी दिनुभयो । उहाँका अनुसार जोखिम क्षेत्रका स्थानीयहरू आफन्तको घरमा शरण मागेर बसिरहेका छन् ।

वर्षाका कारण सुनछहरी गाउँपालिका–३, बाहिरी गामाको झारवाङस्थित दलित बस्ती पहिरोको उच्च जोखिममा रहेको तर उक्त स्थानमा अहिले तार जाली लगाएर बस्तीलाई सुरक्षित गरिएको सुनछहरी गाउँपालिका–३ का वडा अध्यक्ष उदविर घर्ती मगरले बताउनु भयो ।

नेपालको संविधानको भाग ३ मा धारा ३७ को मौलिक हक र कर्तब्यको आवासको हकमा प्रत्येक नागरिकलाई उपयुक्त आवासको हक हुनेछ । कानुन बमोजिम बाहेक कुनै पनि नागरिकलाई निजको स्वामित्वमा रहेको बासस्थानबाट हटाइने वा अतिक्रमण गरिने छैन भनिएको छ । आवास अधिकारसम्बन्धि ऐन २०७५ मा पनि नेपालको संविधान बमोजिम आवास विहीन नेपालीलाई उपयुक्त सुरक्षित आवास सुविधा उपलब्ध गराउने व्यवस्था उल्लेख छ । तर झारवाङका दलित बस्तीमा अविरल वर्षातले पहिरोको जोखिम हुँदा स्थानीयहरूलाई समस्या भएको हो ।

अन्य

भिडियो