१६ वर्षीया बालिकालाई मानव बेचविखन तथा ओसारपसार र संगठित अपराधको कसुरमा धादिङका पाँच जना कसुरदारलाई जिल्ला अदालत धादिङले ०८१ असार २८ गते कैद र जरवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश गोपाल प्रसाद बास्तोलाको इजलासले मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधका दुई छुट्टाछुट्टै मुद्दामा आठ जना मध्ये तीन जनालाई सफाइ दिएको र पाँच जनालाई कसुर कायम गर्दै कैद र जरिवाना तथा पीडितलाई क्षतिपूर्ति दिने फैसला गर्नु भएको छ ।
फैसला अनुसार त्रिपुरासुन्दरी गाउँपालिका-३ कि २९ वर्षीया गीता न्यौपाने, काठमाडौँ जिल्ला कागेश्वरी मनहरा नगरपालिका-६ कि ३२ वर्षीया कविता बानियाँ (आचार्य) र सोलुखुम्बु जिल्ला नेचा सल्यान गाउँपालिका-२ कि ३३ वर्षीया कमला परियारलाई एउटा मुद्दामा १८ वर्ष ९ महिना र थप अर्को मुद्दामा १० वर्ष कैद र १ लाख ७५ हजार रुपियाँ जरिवाना, पीडितलाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिन फैसलामा उल्लेख भएको श्रेस्तेदार माधव भण्डारीले बताउनु भयो ।
अदालतले त्रिपुरासुन्दरी गाउँपालिका- १ का ३९ वर्षीय कोपिल दमै र त्रिपुरासुन्दरी गाउँपालिका -३ कि ३९ वर्षीया कल्पना आलेमगरलाई जनही १५/१५ वर्ष कैद र १/१ लाख रुपियाँ जरिवाना गर्ने फैसला भएको छ ।
जिल्ला अदालतमा ०७९ चैत १६ गते दर्ता भएको मानव बेचबिखन तथा ओसारपसार र संगठित अपराधको मुद्दा ०८१ असार १७ गते कसुर कायम भएको थियो ।
जिल्ला अदालतले कसुरदार सबैलाई ०७९ चैत २१ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।
धादिङ मामाघरमा बस्दै आएकी बालिकालाई भारत पुर्याएर बन्धक बनाइ राखेको अवस्थामा भारतको नयाँदिल्लीको मंगलबजार गल्ली नम्बर २ को एक घरबाट प्रहरीले ०७९ माघ १७ गते उद्धार गरेर १९ गते नेपाल ल्याएको थियो ।
बालिकालाई ०७९ मङ्सिर १७ गतेदेखि धादिङस्थित मामा घरबाट कसुरदारहरुले ज्यानमा खत नभएको बालिकाले पुजा पाठ गर्दा धेरै पैसा आउछ भनेर फकाइ फुल्याक्ष लगेका थिए ।
लामो समयसम्म पनि उनी सम्पर्कमा नआएपछि परिवारले ०७९ पुस ६ गते बालिकाको खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय धादिङमा निवेदन दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय धादिङले माघ १० गते प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोलाई पत्राचार गरी खोजी सुरुगरेको थियो ।
आरोपितहरूले पीडित बालिकालाई तान्त्रिक बाबा खुसी भएमा धेरै पैसा पाउने प्रलोभन देखाएर मङ्सिर १७ गते धादिङस्थित ममाघरबाट काठमाडौँमा ल्याएर पुस १८ गतेसम्म काठमाडौँमा बन्धक बनाइएर राखेका थिए । सोही क्रममा आरोपितले बालिकालाई पुस १९ गते पुन धादिङमा नै लगेर बालिकाको उचाई, तौल नाप गर्नुका साथै शरीरमा कुनै प्रकारको दाग वा टाटु र कुनै अङ्गमा चोट नभएको र रजस्वला (मिन्स) नभएको जाँचबुझ गरेर पुस १९ गते बालिकालाई नेपाल–भारत सीमा सुनौली नाकाबाट दुई दिन लगाएर भारतको दिल्लीस्थित पाहाडगञ्जमा पुर्याएका थिए । मुद्दा ०७९ माघ १५ गते जिल्ला प्रहरी कार्यालयमा मानव बेचविखन तथा आोसारपसार र संगठित अपराधमा दर्ता गरिएको थियो। उद्धार नभएको भए बालिकालाई दुई दिनपछि पूर्णिमाको रातमा बलिदिने तयारी भएको तत्कालिन अवस्थामा अनुसन्धान खटिएका डिएसपि सन्तुलालप्रसाद जैसवारले बताउनुभयो ।