चिट खोसेर विद्यार्थीलाई परीक्षा हलबाट बहिष्कार गरेको आरोपमा विराटनगर महानगरपालिका-१२ स्थित महेन्द्र मोरङ क्याम्पसका उपप्राध्यापक ४४ वर्षीय अर्जुन तामाङमाथि असार २७ गते कुटपीट भएको छ ।
चिट खोसेको आरोपमा महेन्द्र मोरङ क्याम्पस स्नातक तहमा अध्ययनरत विद्यार्थीहरू २२ वर्षीया रिङ्कु पासवान र २३ वर्षीय माधव पासवानले ०८१ असार २७ गते कुटपीट गरेको पीडितको आरोप छ ।
भोजपुरको अरूण गाउँपालिका-४ स्थायी घर भइ विराटनगरमा बस्दै आउनु भएका ४४ वर्षीय उपप्राध्यापकले विद्यार्थीले कुटपीट गरेको इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
कुटपीटपछि पीडित प्राध्यापकले आरोपितविरूद्ध महेन्द्र मोरङ क्याम्पस प्रशासन र त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा घटनामा संलग्न विद्यार्थीहरूलाई कारबाहीको माग गर्दै असार २७ गते उजुरी दिनु भएको छ ।