विद्यालयमा खानेपानी अभाव हुँदा चूलाचूली गाउँपालिकास्थित भानु माध्यमिक विद्यालयका विद्यार्थीहरू खानेपानीबाटै वञ्चित भएका छन् ।
समथर भूभागमा रहेको विद्यालयको ट्युवेलबाट पनि स्वच्छ खानेपानी नआउने र वैकल्पिक स्रोतको व्यवस्थापन नहुँदा विद्यार्थीहरू खानेपानीको सेवाबाट वञ्चित हुनुपरेको विद्यालयका प्रधानाध्यापक रघुनाथ मिश्रले जानकारी दिए । मिश्रका अनुसार विद्यालयमा ३ सय ४० जना विद्यार्थी अध्ययनरत छन् ।
‘निकै कोशिस गर्दा पनि खानेपानीको कुनै व्यवस्था गर्न सकिएन । अहिले प्रत्येक विद्यार्थीलाई घरबाटै बोतलमा पानी ल्याउनु भनेर लगाएका छौँ ।’-मिश्रले भने-‘कति विद्यार्थीले ल्याउँछन् । कतिले ल्याउँदैनन् । साना विद्यार्थीले त पानी बोकेर ल्याउन सक्दैनन् ।’ कहिले कहीँ त विद्यार्थीबिच पानीकै विषयमा झगडा पनि मिलाउनु पर्ने गरेको प्रअ मिश्रले जानकारी दिए ।
चूलाचूली क्षेत्रमा यसअघि गाडिएका ट्युवेलको पानीमा आर्सेनिक नामक दुषित पदार्थ भेटिएकाले जहाँसुकैको पानी खान नहुने हुँदा विद्यार्थीलाई थप समस्या परेको प्रअ मिश्रको भनाई छ ।