INSEC Online

📅 २०८३ जेष्ठ २१

दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर

छैठौँ अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा खोटाङमा हिंसा तथा दुर्व्यवहारमा पर्ने बालबालिकामध्ये बालिकाको सङ्ख्या दोब्बर बढी रहेको उल्लेख गरिएको छ ।

महिला तथा बालबालिका कार्यालयमा गत वर्ष आएका १९ ओटा सोसम्बन्धी घटनामध्ये १३ जना बालिका र ६ जना बालक तथा यो वर्षको हालसम्म आएका चार घटनामध्ये चार ओटै बालिका हिंसा तथा दुर्व्यवहारसम्बन्धी रहेको तथ्याङकमा उल्लेख छ ।

४९.८ प्रतिशत बालबालिका रहेको यो जिल्लामा बाल हिंसाका घटना अन्यत्र भन्दा विद्यालयमा बढी हुने गरेको पाइएको महिला तथा बालबालिका कार्यालयका बाल संरक्षक बिदुर आचार्यले बताए । बढी मात्रामा बालिका यौन हिंसा तथा दुर्व्यवहारका घटना हुने जिल्लामा बालगृहको ब्यवस्था नहुनाले पनि यो समस्या बढेको आचार्यको भनाई छ ।

महिला तथा बाल विकास कार्यालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयमा पटक-पटक बालगृहको लागि निवेदन गरे पनि हालसम्म बालगृह सञ्चालन हुन सकेको छैन । कतिपय बाल हिंसा तथा दुर्व्यवहारका घटनाहरू प्रकाशमा नआउनु तथा दोषीलाई कानुनी दायरामा ल्याउन नसक्नु पनि चुनौतिको विषय बनेको छ ।

बालबालिकासम्बन्धी आधिकारिक रूपमा पर्याप्त तथ्याङ्क सङ्कलन तथा भण्डारण गर्ने निकाय नहुनु, एकद्वार प्रणालीबाट बालबालिकाका समस्याहरू राख्ने परिपाटीको अभाव, बालश्रमबारे अध्ययन अनुसन्धान नहुनु, बालविवाहका घटनाहरू भएर पनि प्रकाशमा नआउनु जस्ता विविध कारणले बालबालिकासम्बन्धी हिंसा तथा दुर्व्यवहार घट्न नसकेको जानकारहरू बताउँछन् ।

यससम्बन्धी समस्या न्यूनीकरण गर्न महिला तथा बालबालिका कार्यालयका तर्फबाट पर्याप्त पहल गरिरहेको बताइएको छ । कार्यालयले बाल अधिकार तथा संरक्षणसम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरिरहेको जनाएको छ ।

अन्य

भिडियो