INSEC Online

📅 २०८३ जेष्ठ २१

पतिसहित परिवारका सदस्यविरुद्ध अभद्र व्यवहारको उजुरी

राजविराज नगरपालिका-७ खर्साल टोलकी २९ वर्षीया मनिषा कुमारी सिंहले पति ३३ वर्षीय मनोजकुमार मेहतासहित परिवारका सदस्यहरूमाथि अभद्र व्यवहारको उजुरी दर्ताका लागि दिएको निवेदन ०८१ असार १७ गते सनाखत गर्नुभएको छ ।

जिल्ला प्रहरी कार्यालयले पीडितको उजुरी दर्ता नगरेपछि उच्च अदालत जनकपुर राजविराज इजलासले आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयलाई २०८० जेठ १७ गते परमादेश जारी गरेको थियो । परमादेश पश्चात पीडितले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएर उजुरी दर्ताका लागि सनाखत गर्नुभएको हो ।

पीडितलाई २०८० कात्तिक ३० गते उनका पति ३३ वर्षीय मनोजकुमार मेहता, देवर २८ वर्षीय श्रवण कुमार मेहता, ससुरा ५५ वर्षीय रामलखन मेहता, सासु ५० वर्षीया अमिरकादेवी मेहता, नन्दहरू २६ वर्षीया संगिता मेहता र ३१ वर्षीया चन्द्रिका मेहताले ज्यान मार्ने धम्की दिदै हेलमेट र काठको कुर्सीले कुटपिट गरी घाइते बनाएको आरोप लगाउनु भयो ।

आरोपितहरूले कुटपिट गरी घाइते बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा ०८० मङ्सिर १ गते उजुरी दिनुभएको थियो । सामाजिक परम्परा अनुसार २०७४ फागुन २० गते विवाहित मनोज र मनिषाबीच मनमुटाव बढेपछि मनिषा सिरहाको गोलबजार नगरपालिका-२ लालपुरस्थित माइत बस्दै आएकी छिन् ।

सप्तरी जिल्ला अदालतमा मनोजले उजुरी दर्ता गरेको सम्बन्ध विच्छेदको मुद्दा विचाराधिन छ । अदालतले मनिषालाई भेटघाट गर्न दिने गरी छोराहरू मनोजको जिम्मा लगाएको छ । अदालतको आदेशअनुसार चार वर्षीय जुम्ल्याहा छोराहरू भेटघाट गर्न घर गएको बेला आरोपितहरूले ज्यान मार्ने धम्की दिदै हेलमेट र काठको कुर्सीले कुटपिट गरी घाइते बनाएको मनिषाले बताउनु भयो । घाइतेको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कात्तिक ३० गते उपचार भयो ।

यस्तै मङ्सिर १ गते पीडितको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा स्वास्थ्य परीक्षण भयो । आरोपित मनोजले अदालतमा मुद्दा चलिरहेको अवस्थामा माइत बसिरहेकी मनिषाले घरपरिवारमा कसैलाई जानकारी नदिई अपहरण गर्ने योजना अनुसार आएकोले उनको काखबाट बच्चा खोसिएको तर कुटपिट नगरेको बताउनु भयो ।

अन्य

भिडियो