सशस्त्र प्रहरी असई थमन वि.क. हत्या घटनाका फरार आरोपित पूर्व सांसद ४५ वर्षीय कौशल यादवलाई प्रहरीले ०८१ असार १६ गते गिरफ्तार गरेको छ ।
सशस्त्र प्रहरी बल बेस क्याम्प, जलेश्वर, महोत्तरीमा कार्यरत असई थमन वि.कलाई मधेस आन्दोलनको क्रममा ०७२ भदौ २५ गते मधेसी मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिई कुटपिट गरी हत्या गरेका थिए । उक्त हत्या घटनामा पूर्व सांसद यादवसमेत संलग्न रहेको आरोपमा सोही दिन प्रेम वि.क. ले महोत्तरी जिल्ला अदालत जलेश्वरमा मुद्दा दायर गराएकोमा यादव फरार रहेकोले उनीविरुद्धको मुद्दा मुल्तबीमा राखिएको थियो ।
त्यसैगरी, महोत्तरीको सम्सी गाउँपालिका-५ स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको डिएल ३ सिएवाई ८६१५ नम्बरको स्कोरपियो गाडीलाई विपरीत दिशाबाट आउँदै गरेको प्र. २-०२-००१ च ००४५ नम्बरको महिन्द्रा पिकअप गाडीले ठक्कर दिई भागेको घटना सम्बन्धी अनुसन्धान गर्ने क्रममा पूर्व सांसद यादव गिरफ्तार भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तुलालप्रसाद जयसवारले बताउनु भयो । आरोपित सांसदलाई गिरफ्तार गरी सोही दिन अदालतमा उपस्थित गराएको उहाँले जानकारी दिनु भयो ।
आरोपित यादवविरुद्दको मुद्दाको सक्कल मिसिल उच्च अदालत जनकपुरमा रहेको र मिसिल भोली अर्थात असार १७ गते जिल्ला अदालत महोत्तरी आउने भएकोले उनलाई प्रहरी हिरासतमा पठाएको र आरोपित पूर्व सांसदमाथि कर्तव्य ज्यान र आगलागी मुद्दा दायर रहेको जिल्ला अदालत महोत्तरीका सूचना अधिकारी केदारनाथ झाले जानकारी दिनु भयो ।