INSEC Online

📅 २०८३ जेष्ठ २१

एक महिनादेखि स्वास्थ्य चौकीमा औषधिको अभाव

एक महिनादेखि जिल्लाका स्वास्थ्य संस्थामा औषधिको अभाव देखिएको छ । सरकारले औषधि खरिद गर्न स्थानीय तहमा रकम पठाए पनि समयमा औषधि खरिद नहुँदा यहाँका स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो ।

स्थानीय तहका स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन । स्वास्थ्य चौकीमा औषधि नहुँदा बिरामीहरूलाई बिना औषधि फर्काउनु परेको पाँखा स्वास्थ्य चौकीका इञ्चार्ज मानबहादुर विष्टले बताए । ‘स्वास्थ्य संस्थामा सिटामोलसमेत अभाव छ’-उनले भने-‘औषधि अभावमा नागरिकले उपचार पाउन सकेका छैनन ।’

नौ ओटा स्थानीय तह रहेको कालिकोट जिल्लामा अहिले दुई ओटा तहले मात्रै औषधि खरिद गरेका छन् भने सात तहमा औषधि खरिद नहुँदा स्वास्थ्य संस्थामा चरम समस्या निम्तिएको जिल्ला अस्पताल विकास समितिका अध्यक्ष कृष्णबहादुर सिंहले बताए ।

एक महिना मात्रै पुग्ने औषधि खरिद हुने गरेकाले महिनैपिच्छे समस्या देखिने गरेको रास्कोट नगरपालिकाका स्वास्थ्य संयोजक दयाराम सिम्खाडाले बताए । ‘अहिले स्वास्थ्य संस्थामा औषधि अभाव छ । ६० लाख रूपियाँको औषधि किनेर वितरण गर्ने तयारी गरेका छौँ ।’-उनले भने-‘तर, त्यो बजेटको अख्तियारी नआउँदा के गर्ने भन्ने विषयमा निकै अन्योल छ ।’

पचालझरना, कालिका, नरहरीनाथ गाउँपालिकाका सबैजसो स्वास्थ्य संस्थामा औषधि अभाव रहेको कालिका गाउँपालिका स्वास्थ्य समिति संयोजक धनराज शाहीले बताए । उनले भने-‘औषधि खरिदका लागि प्रक्रिया अघि बढाइसकेका छौँ तर थोरै रकम भएकाले औषधि पार्याप्त मात्रामा पूर्ति गर्न सकिने अवस्था छैन ।’

अन्य

भिडियो