सिमकोट गाउँपालिका–६ बजार स्थित शान्ती टोलका स्थानीयबासी सात महिनादेखि खानेपानीबाट वञ्चित भएको भन्दै खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा असार ९ गते धर्ना दिएका छन् ।
धारामा पानी नआएपछि शान्ती टोलका करिब १२ जना महिलारू धर्ना बस्न बाध्य भएका छन् । गत मङ्सिरबाट नियमित रुपमा खानेपानीका धारामा पानी नआएपछि बजार स्थित शान्ती टोलका स्थानीय नागरिक खानेपानीबाट वञ्चित भएका हुन् ।
स्थानीय जमुना लामाको नेतृत्वमा गएको टोलीले खानेपानी व्यवस्थापन गरिनु पर्ने माग रहेको छ । धर्नामा पुगेको टोलीका संयोजक लामाले सात महिना भइसक्दा पनि सरोकारवाला निकायको ध्यान नगएको आरोप लगाउनुभयो । उहाँले सिमकोट गाउँपालिकालाई पटक पटक अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आफूहरू खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमा धाउन बाध्य भएको बताउनुभयो ।
त्यस्तै धर्नामा गएकी स्थानीय गार्मु सिंहले धारामा खानेपानी नआएपछि शान्ती टोलका करिब ६० घरदुरीले खानेपानीबाट वञ्चित हुनु परेको गुनासो गर्नुभयो । उहाँले उक्त टोलमा पानी नआएपछि हाल सिमकोट माथिल्लो गाउँमा रहेको तिनधाराको पानी प्रयोग गर्न बाध्य भएको बताउनु भयो ।
तिनधाराको पानी ल्याउन जाँदा र आउँदा एक घण्टा लाग्ने गरेको धर्नामा पुगेकी महिलाहरूले गुनासो गरेका छन् । उक्त टोलले पहिलेदेखि नै प्रयोग गर्दै आएको पाइप लाइनलाई खानेपानी उपभोक्ता समितिले अर्को टोललाई दिएपछि आफूहरू समस्यामा परेको स्थानीय लामाको भनाइ छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष कर्ण भण्डारीलाई बुझ्दा उहाँले उपभोक्ताहरूले पाइपको व्यवस्था गरे नयाँ लाइनको व्यवस्था गरि खानेपानी उपलब्ध गराउन सक्ने बताउनुभयो । उहाँले पहिलेको पाइप लाइन टोल भन्दा तल भएकाले केही समस्या भएको बताउनुभयो ।
सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले गाउँपालिका उपाध्यक्ष शुसिला रोकाया भामको नेतृत्वमा पाइपको व्यवस्थापन गर्न निर्देशन गरेको बताउनुभयो । खानेपानी, सिँचाइ तथा उर्जा विकास कार्यालयमै स्थानीयबासी पुगेपछि कार्यालय प्रमुख ङवान नाम्गेल लामाले खानेपानीको पाइपको व्यवस्था गर्न पहल गरिने बताउनु भयो ।