१८ वर्षीया छोराको बालविवाह गराउन खोजेको आरोपमा सुरुङ्गा नगरपालिका-३ दौलतपुरकी ४२ वर्षीया श्यामदेवी मण्डल ०८१ असार ५ गते गिरफ्तार भएकी छिन् ।
खडक नगरपालिका-२ बेल्ही टोलस्थित माइतीघरबाट श्यामदेवीले बालक छोरालाई बेहुला बनाई बालविवाह गराउन जन्ती पठाएपछि प्रहरी टोलीले गिरफ्तार गरेको हो । बाजागाजासहित जन्तीका साथ बालक छोरालाई बेहुला बनाई विदाई गर्न लागेको अवस्थामा फेला पारी आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर निलमप्रसाद उप्रेतीले बताउनु भयो ।
गिरफ्तार भएकी आरोपितले छोराले विवाहका लागि साह्रै जिद्दी गरेकाले विवाह गराउन खोजेको बताउनु भयो । विवाहका लागि बोदे बर्साइन नगरपालिका-९ सिमरा टोलका लागि विदा भएका बालक भने गिरफ्तारीको डरले फरार भएका छन् । आरोपितविरुद्ध सुरुङ्गा नगरपालिकाको कार्यालयले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएको छ ।
मधेस प्रदेशमा सप्तरीको २ पालिका मात्र बालविवाह मुक्त घोषणा भएको छ । सुरुङ्गा नगरपालिका २०७९ मङ्सिर १४ गते र खडक नगरपालिका २०८० पुस १३ गते बालविवाह मुक्त नगर घोषणा भएको हो ।