INSEC Online

📅 २०८३ जेष्ठ २२

आत्महत्या दुरुत्साहन घटनाका आरोपित गिरफ्तार

बाँके जिल्ला खजुरी गाउँपालिका-४ घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत महिला प्रहरी जवान २५ वर्षीया करिश्मा सुनारलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा बाँके जिल्ला बैधनाथ गाउँपालिका-२ का २७ वर्षीय पुष्कर थापा मगरलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ असार १ गते गिरफतार गरेको छ ।

मृतक सुनार ०८१ जेठ ३१ गते बिहानको डियुटी र दिउँसो कार्यालयको काम सकेर २ बजे खाजा खान कोठा गएकी थिइन् । उनी सिविल पोसाकमा रहेको जिल्ला प्ररही कार्यालयका एसपी रमेश पण्डितले बताउनु भयो । निस्किएको धेरै बेरसम्म पनि सुनार कार्यालय नआइपुग्दा खोजतलास गर्दै जाँदा उनी जिल्ला प्रहरी कार्यालय अन्तरगत महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको दोश्रो तल्लाको बाथरुममा पासो लगाएको र भित्रबाट ढोका लगाएको अवस्थामा मृत भेटिएको एसपी पण्डितले बताउनु भयो । जेठ ३२ गते मृतकका आफन्तहरू आए पछि प्रक्रिया पुर्‍याइ सोही दिन प्रादेशिक अस्पतालमा शवको पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाएको उहाँले बताउनु भयो ।

मृतक करिश्माको आरोपितसँग प्रेम सम्बन्ध भएको र आरोपितले पटक पटक मानसिक यातना दिंदै आएको हुनाले भतिजिले आत्महत्या गरेको मृतकका ठूलो बुबा धर्म सुनारको भनाइ रहेको छ । कानुन बमोजिम कारबाहीको लागि आरोपितविरुद्ध जेठ ३२ गते जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको मृतकका ठूलो बुबा धर्म सुनारले बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी रमेश पण्डितले भन्नु भयो- “प्रहरी जवानले आत्महत्या गरेको विषयमा अनुसन्धान गर्दा आरोपितविरुद्ध प्रमाणहरू फेला परेको र पीडित परिवारबाट उजुरी आएकोले आरोपितलाई गिरफ्तार गरी प्रक्रिया अगाडि बढाएको हो ।”

अन्य

भिडियो