INSEC Online

📅 २०८३ जेष्ठ २१

रोल्पामा बालविवाहका कारण सम्बन्ध विच्छेदका घटनामा वृद्धि

जिल्ला अदालत, रोल्पामा दर्ता भएका मुद्दामा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेको पाइएको छ । पछिल्लो समय जिल्ला अदालतमा बालविवाहका कारण सम्बन्ध विच्छेद गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।

जिल्ला अदालतमा दर्ता हुने मुद्दा मध्ये ५५ प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । जिल्लामा चालु आर्थिक वर्षको वैशाख ३० गतेसम्मको कुल ५ सय ९१ मुद्दामध्ये ३ सय २६ मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतले जनाएको छ । बालविवाह न्यूनीकरणको निम्ति विभिन्न सङ्घसंस्था एवम् स्थानीय सरकारले अभियान चलाए पनि जिल्लामा बालविवाको घटनामा भने कमि आउन सकेको छैन ।

अधिकांश सानो उमेरमै विवाह गर्ने युवायुवतीहरू सम्बन्ध विच्छेदको सिकार बनेको मानव अधिकारकर्मी घनस्याम आचार्य बताउनुहुन्छ ।

जिल्ला अदालतका अनुसार चालु आर्थिक वर्ष ०८०/८१ मा जिम्मेवारी सरी आएकामध्ये १ सय १६ मुद्दा र नयाँ दर्ता भएका ३ सय ३७ सहित यस अवधिमा ४ सय ५३ मुद्दा फच्छ्र्यौट भएका छन् । जिल्लामा देवानी मुद्दा अन्तर्गत सम्बन्ध विच्छेदका सबैभन्दा धेरै ३ सय २६ मुद्दा दर्ता भएकोमा २ सय ७५ मुद्दा फैसला भई ५१ थान मुद्दा फैसला हुन बाँकी रहेका छन् । यसैगरी देवानी मुद्दा अन्तर्गत लेनदेनको ५३ थान र अंशका ३६ थान मुद्दा रहेका छन् । फौजदारी मुद्दामा भने सबभन्दा धेरै ज्यान सम्बन्धी कसुरका मुद्दा रहेका छन् । जिल्ला अदालतमा यस अवधिमा ३६ ओटा ज्यान सम्बन्धी कसुरका मुद्दा र जबर्जस्ती करणीका ३२ थान मुद्दा रहेका छन् ।

यस अवधिमा जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या शून्य रहेको छ । १८ महिना नाघेको एक थान मुद्दा बाँकी रहेकोमा हाडनाता करणी अन्तर्गतको उक्त मुद्दामा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन आउन बाँकी रहेको रोल्पा जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतमा दर्ता ५ सय ९१ मुद्दामध्ये ४ सय ८४ मुद्दा महिलासँग सम्बन्धित रहेको छ ।

यस वर्षको वैशाख ३० गतेसम्मको मुद्दाको विषयगत क्षेत्रबाट हेर्दा ५५ प्रतिशत बढी मुद्दा सम्बन्ध विच्छेदको देखिए पनि वर्षमा सरदर ३५ प्रतिशत मुद्दा सम्बन्ध विच्छेदका आउने गरेको जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालले जानकारी दिनुभयो । ‘सम्बन्ध विच्छेद जिल्लाको एक मुख्य सामाजिक मुद्दाको रूपमा देखिएको छ’, भुसालले भन्नुभयो । सम्बन्ध विच्छेदले पारेको पारिवारिक र सामाजिक असरको बारेमा सूक्ष्म अध्ययन गर्न जरुरी रहेको जिल्ला न्यायाधीश भुसालको भनाइ छ । २०/२१ वर्षको उमेरमा दुई/तीन ओटा बच्चा बोकेर सम्बन्ध विच्छेद गर्न आउने गरेको न्यायाधीश भुसालले बताउनु भयो ।

अन्य

भिडियो