गौरीशंकर गाउँपालिका–८ खारेको ३३ घरधुरी परिवार पहिरोबाट विस्थापित भएकाहरू यस वर्षको मनसुन सुरू भएसँगै अस्थायी आवासका लागि ठाउँको खोजी गर्दैछन् ।
गत वर्ष साउन १८ गते आएको पहिरोले उक्त वडाका खारेको सल्ले र भष्मेका ३३ घर बगाएको थियो भने सो पहिरोमा परी चार जना पुरिएका थिए । यस वर्षको मनसुनी वर्षा सुरू हुन लागेको भन्दै पहिरो पीडितहरू अस्थायी आवासको लागि सुरक्षित बास स्थानको खोजी गर्दै टहरा बनाउन लागेका छन् ।
सल्ले बस्तीका पहिरो पीडित राम तामाङले एक वर्षसम्म पनि सरकारले स्थायी आवासको व्यवस्था नगरेकोले गत वर्षको पीडा भुल्दै सुरक्षित, अस्थायी आवासको खोजीमा ३३ घरका सबै लागेको बताउनु भयो । ‘तीन तहको सरकार छ भन्छन् । हाम्रो पीडामा कुनै पनि सरकारले सहयोग गरेनन् ।,’– तमाङले भन्नु भयो ।
वडाध्यक्ष दावारिञ्जी शेर्पाले बस्ती स्थानान्तरणका लागि स्थानीय तहबाट जति प्रयास गरेको भए पनि सफल हुन नसकेको बताउनु भयो । बस्तीसँगै पहिरो पीडितलाई जीविकोपार्जनको व्यवस्था समेत गर्नुपर्ने रहेछ, वडा र गाउँपालिकाको प्रयासले सम्भव नभएको वडाध्यक्ष शेर्पाले बताउनु भयो ।
गौरीशंकर गाउँपालिकाका अध्यक्ष विश्वास कार्कीले पीडितहरूलाई स्थायी आवास व्यवस्थापनका लागि सम्भव भएसम्मका प्रयत्न गरिएको बताउदै सरोकारवाला निकायले बेवास्ता गरेको उहाँले आरोप लगाउनु भयो ।
स्थानीय सरकारको मात्र स्रोतले पहिरो पीडितलाई व्यवस्थापन गर्न सम्भव नभएको र जिल्ला विपत् व्यवस्थापन समिति, प्रदेश कार्यालय, राष्ट्रिय विपत् जोखिम प्राधिकरणमा पटकपटक ताकेता गर्दा समेत सुनुवाइ नभएको अध्यक्ष कार्कीले बताउनु भयो ।
