दम्पति हत्याको निष्पक्ष छानबिन माग गर्दै मृतक पक्षले ०८१ जेठ २९ गते धुलिखेलमा प्रदर्शन गरेका छन् ।
महाभारत गाउँपालिका–४ महादेवटारका ६० वर्षीय मानवहादुर बल र पत्नी ५० वर्षीया केकाईमाया बल जेठ ७ गते मृत अवस्थामा फेला परेका थिए ।
दुवै जना ठाकुरपूजामा सहभागी नभएपछि छिमेकीहरूले पूजाको प्रसादी लिएर जाँदा मृत अवस्थामा भेट्टिएका थिए । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्माका अनुसार पसल सञ्चालन गरी बसेका बल दम्पतिको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनास्थल प्रकृतिमा देखिएको थियो ।
पत्नीको शव कोठा बाहिर र पतिको शव कोठाभित्र चुकुल लगाएको अवस्थामा भेटिएको थियो । मृतक पक्षले जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा किटानी उजुरी दिए पनि घटनाको २२ दिन बित्दासमेत आरोपितलाई गिरफ्तार नगरेको भन्दै प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरूले किटानी जाहेरी लागु गर, मान्छे मार्न पाइदैन, जाहेरीमा उल्लेखित व्यक्तिहरूलाई गिरफ्तार गर, मृतक दम्पतिलाई न्याय दे, प्रहरी अनुसन्धान निष्पक्ष गर, जघन्य अपराधी लुकाउन पाइँदैन, न्यायको ढोका खुल्ला गर, कानुनी शासन लागु गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
घटनापछि प्रहरी चौकी फोक्सिङटार र जिल्ला प्रहरी कार्यालय, धुलिखेलको प्रहरी टोलीले घटनास्थल मुचुल्का उठाएको थियो ।
शवको पोष्टमार्टम जेठ ९ गते धुलिखेल अस्पतालमा गरी शव परिवारलाई जिम्मा लगाइएकाे थियो ।
